शिक्षा

शिक्षा ऐनमा नवौँ संशोधनको तयारी

काठमाडौँ । अर्थ मन्त्रालयले बाटो खुला गरेसँगै शिक्षा मन्त्रालयले अस्थायी शिक्षक संघर्ष समितिसँग भएको सहमतिको कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँ संशोधनको तयारी सुरु गरेको छ ।

गत असार ९ गते भएको चारबुँदे सहमतिअनुसार ऐन संशोधन प्रक्रिया तत्काल अघि बढाउन नेपाल शिक्षक महासंघ र आन्दोलनरत संघर्ष समितिसँग निर्णायक छलफल भइरहेको मन्त्रालयका प्रवक्ता डा.हरि लम्सालले जानकारी दिए ।

सहमतिमा परीक्षा वा सुविधामध्ये एक रोज्नुपर्ने भनी उल्लेख भएको ऐनको आठौँ संशोधनमा असफल हुनेलाई पनि सुविधा र औषधोपचार थपिन उल्लेख छ । अर्थ मन्त्रालयले असफल हुनेलाई पनि सुविधा दिन र औषधोपचार रकमबारे थप छलफल गर्न सकिने भनी पत्र पठाएकाले नवौँ संशोधनको तयारी गरिएको डा।लम्सालले बताए ।

नवौँ संशोधन नभएसम्म आसन्न भदौ ३ गतेको शिक्षक सेवा आयोगको परीक्षा सार्नुपर्ने र संशोधनपछि तत्काल नयाँ मिति तोक्नुपर्ने माग राखी संघर्ष समितिले यही साउन १८ गतेदेखि भद्रकालीमा आमरण अनशन जारी राखेको छ । नेपाल राष्ट्रिय शिक्षक संठनका अध्यक्ष बाबुराम थापाले परीक्षा सार्नेभन्दा पनि छिटो ऐन संशोधनको सुनिश्चितता आफूहरुको प्राथमिकता भएको बताए ।

संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले सहमतिअनुसार नवौँ संशोधन र परीक्षा स्थगन नगरिएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । उनले अनशनरत ललिपुरका शिक्षक विष्णुहरि दनुवार र पर्साका किसुनप्रसाद यादवको स्वास्थ्य स्थिति क्रमशः शिथिल हुँदै गएको बताए ।