अन्तर्राष्ट्रिय

उत्तर कोरियाको परमाणु परिक्षण विश्वकै लागि खतरा : जापान

एजेन्सी । जापानले उत्तर कोरियाले पछिल्लो समयमा अघि सारिरहेको परमाणु परीक्षणको काम आगामी दिनमा ‘विश्वका लागि नै नयाँ खतरा रहेको जनाएको छ ।
जापानको रक्षा मन्त्रालयद्वारा सार्वजनिक एक प्रतिवेदनमा परमाणु खतरा भएको उल्लेख गरिएको छ । जापानले भनेको छ, ‘उत्तर कोरियाको यो आणविक परीक्षण गएको करिब एकदशकयताकै सबैभन्दा खतरनाक अवस्था हो ।’ जापान र उत्तर कोरिया सामुद्रिक सीमाले छुटिएका देश हुन् ।
उत्तर कोरियाले निरन्तर रुपमा जापान र उत्तर कोरियाबीचको समुद्रमा क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ । सो परीक्षणबाट जापानले अहिलेको विश्वका लागि ठूलो खतराको रुपमा उत्तर कोरिया अघि बढेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । उत्तर कोरियाले पछिल्लो समयमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ । गएको करिब दुई वर्षयतादेखि निरन्तररुपमा उसले आणविक परीक्षण जारी राखेको छ ।
पछिल्लो समय उसले गरेको भनिएको अन्तरमहादेशीय क्षेप्यास्त्रले (आइसिबिएम) विश्वमा झन ठूलो खतरा बढाएको पाइएको जापानको रक्षा मन्त्रालयले तयार पारेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।