स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले सुरु गर्यो हस्तान्तरणको काम

नेपालगन्ज । स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालय मातहत रहेका स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गर्ने कार्य सुरु गरेको छ । देशमै पहिलो पटक स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरणको सुरुवात गरिएको सम्भवतः यो पहिलो जिल्ला हो ।

संवैधानिक व्यवस्था अनुसार बाँके जिल्ला जनस्वास्थ्य कार्यालयको मातहतमा रहेका यस जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले शनिबार यहाँ आयोजित एक कार्यक्रममा स्थानीय तहलाई हस्तान्तरण गरे ।

सो अवसरमा सचिव डा रेग्मीले स्थानीय निकायका पदाधिकारी र स्वास्थ्यकर्मीले इमान्दारिताका साथ कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे ।