समाचार

अभौतिक सम्पदा विधेयकमा १७ संशोधन

३ साउन, काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सांसदहरूले १७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। विधेयकको प्रस्तावनादेखि विभिन्न दफासम्म परिमार्जन गर्नुपर्ने माग गर्दै विभिन्न दलका सांसदहरूले संशोधन दर्ता गराएका हुन्।

नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न दलका सांसदहरूले सांस्कृतिक सम्पदाको परिभाषा, दायरा र संरक्षणको उद्देश्यलाई थप स्पष्ट, समावेशी र समयानुकूल बनाउनुपर्नेमा जोड दिएका छन्।

नेकपाका सांसद परशुराम तामाङले प्रस्तावनामा ‘परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका’ भन्ने शब्दावली हटाएर आदिवासी समुदायको ज्ञान, सीप र अभ्यासलाई स्पष्ट रूपमा समेट्नुपर्ने प्रस्ताव गरेका छन्। त्यस्तै, सांसद गणेशबहादुर विश्वकर्माले ‘अभौतिक’ शब्दको सट्टा ‘मौलिक’ शब्द प्रयोग गर्नुपर्ने संशोधन दर्ता गरेका छन्।

रास्वपाका सांसद गणेश पराजुलीले प्रस्तावनालाई पूर्ण रूपमा पुनर्लेखन गर्नुपर्ने सुझाव दिएका छन्। उनले सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण, पुस्तान्तरण, समुदायको अग्राधिकार, सांस्कृतिक विविधताको सम्मान र भावी पुस्ताको हित सुनिश्चित गर्ने विषयलाई विधेयकको मूल उद्देश्यका रूपमा उल्लेख गर्नुपर्ने बताएका छन्।

यस्तै, रास्वपाकै सांसद कमल सुवेदीले थारू, आदिवासी जनजातिलगायत विभिन्न जाति तथा समुदायले विकास गरेका सांस्कृतिक सम्पदालाई युनेस्कोको मान्यताअनुसार संरक्षण र प्रवर्द्धन गर्ने व्यवस्था समेट्नुपर्ने प्रस्ताव गरेका छन्। सांसद सुलभ खरेलले विदेशमा बसोबास गर्ने नेपाली समुदायले अभ्यास गर्दै आएका सांस्कृतिक सम्पदालाई पनि विधेयकको दायरामा समावेश गर्नुपर्ने माग गरेका छन्।

हाल यो विधेयक प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा दफावार छलफलको क्रममा रहेको छ। समितिले दर्ता भएका सबै संशोधन प्रस्तावमाथि छलफल गरी आवश्यक परिमार्जनसहित प्रतिवेदन तयार गर्नेछ।

समितिबाट पारित भएपछि विधेयक प्रतिनिधिसभामा निर्णयका लागि प्रस्तुत हुनेछ। त्यसपछि राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।