सूचना प्रविधि

मोबाइल एप्समार्फत लाइभ टेलिकमको टिभी तथा भिडियो स्ट्रिमिङ सेवा

काठमाण्डौ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ आजबाट सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रा.लि.को सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो ।

सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिन्छ । भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना छ । त्यसैगरी विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ । नेपालमा उपलब्ध एफएम रेडियो समेत यही एप्समार्फत सुन्न सकिने टेलिकमले जनाएको छ ।
यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ । हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

सो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने छ ।

सो एप्स र यसको प्रयोग वारेमा विस्तृत जानकारी www.ntc.net.np तथा www.wowtime.net बाट समेत प्राप्त गर्न सकिन्छ ।