शिक्षा

शिक्षकहरुको लागि शुभ दशैं यसरी भयो खल्लो

महोत्तरी । दशैँको समयमा पनि तलब नपाएपछि महोत्तरीका शिक्षक चिन्तित भएका छन् ।

प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाए तापनि यसवर्ष समयमै तलब नपाउँदा जिल्लामा कार्यरत करिब दुई हजार शिक्षकको यसवर्षको दशैँ खल्लो हुने भएको छ ।

नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठपर्वमा तलब नपाएपछि यहाँका विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाले सोचेजस्तो पर्व मनाउन नसक्ने महोत्तरी गौशाला नगरपालिका–११ कालीपुरकी शिक्षिका सुनिता कुमारीले बताइन् । वर्षमा एकपटक आउने पर्वमा छोराछोरीको इच्छा पूरा गर्ने कुनै छाँटकाँट नदेखिएको उनको भनाइ छ ।

ठूलो पर्व भए तापनि पैसाको अभावमा कुनै किसिमको तयारी नगरेको गौशाला नगरपालिकास्थित वीरेन्द्र आधारभूत विद्यालय बेलगाछीका शिक्षक चन्द्रमोहन कनौजियाले बताए ।

यस सम्बन्धमा महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले अब विद्यालय कर्मचारीका तलब स्थानीय निकायले उपलब्ध गराउने भए तापनि आफू तलब खुवाउनका लागि प्रयासरत रहेको बताए ।

यता महोत्तरीलगायत २ नं प्रदेशमा हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक भएपनि कार्यालय पूर्णरुपमा सञ्चालनमा नआएकाले शिक्षकले तलब पाउन नसकेको जिशिअ दाहालले बताए ।

यता भर्खरै स्थानीय तहको निर्वाचनको परिणाम आएकाले हरेक विद्यालयमा तलब पठाउने व्यवस्था भइरहेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ । जिल्लाभरिमा दुई हजारको हाराहारीमा शिक्षक कार्यरत रहेका छन् ।