शिक्षा

विपन्न विद्यार्थी कोषमा रु एक लाख सहयोग

रत्ननगर (चितवन) । पूर्वी चितवनको खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषमा अमेरिकाबाट रु एक लाख सहयोग प्राप्त भएको छ ।

गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न स्थापित उक्त कोषमा अमेरिकामा रहेको ग्लोबल एक्सन कोलिसनमार्फत रु एक लाख तीन हजार २५० सहयोग प्राप्त भएको कोषका संयोजक मुरलीप्रसाद गजुरेलले जानकारी दिए ।

उक्त संस्थाका सदस्य चितवन निवासी हेमु अधिकारी र रुपेन बज्राचार्यको पहलमा रकम सहयोग भएको गजुरेलको भनाइ छ ।

यसअघि उक्त संस्थामार्फत चेपाङ बालबालिका अध्ययनरत पूर्वी चितवनको अन्त्योदय स्कुलमा रु तीन लाखभन्दा बढी सहयोग गरिएको जनाइएको छ । विसं २०६७ मा गजुरेलले साढे ६ हजार जम्मा गरेर चितवनको खैरहनी उच्चमाविमा जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरेका थिए।

परिवारका सदस्यले प्रत्येक वार्षिकोत्सवका अवसरमा पैसा थप्दै जाने कार्यक्रम शुरु गरेर थालिएको अभियानमा अहिलेसम्म रु ६५ लाख जम्मा भइसकेको उनी बताउछन् । कोषमा रु एक करोड बनाउने लक्ष्य रहेको छ । उक्त कोष सञ्चालनका लागि खैरहनी माविसँग सहकार्य भएको छ । “म एसएलसी नगरेको मान्छे, चाहना भए पनि पढ्न नपाउँदा कस्तो पीडा हुन्छ भन्ने मलाई थाहा छ, त्यसैले उच्च शिक्षा पढ्न नसक्ने विद्यार्थीलाई केन्द्रित भएर लागेको छु,” गजुरेलले भावुक हुँदै भने । कोषको ब्याजबाट उच्च शिक्षा पढ्ने जेहेन्दार र गरिब विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आएको छ । कोषबाट अहिलेसम्म ४०० विद्यार्थीले सहयोग पाएको उहाँको तथ्यांक छ ।