राजनीति

म्याग्दीका राजनीतिक दलहरुको यस्तो छ संघ र प्रदेशको निर्वाचनको तयारी

बाबियाचौर (म्याग्दी) म्याग्दीमा क्रियाशील राजनीतिक दलहरु आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटेका छन् । विसं २०७४ वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा आगामी मंसिर १० गते पहिलो चरणमा संघ र प्रदेशको चुनाव हुँदैछ । एक नगरपालिका, पाँच गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा प्रदेशसभाका लागि दुई तथा संघका लागि एकवटा निर्वाचन क्षेत्र कायम भएको छ ।

चुनावलाई लक्षित गरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार सिफारिससँगै कार्यकर्ता भेटघाट, भेला, बैठक र संगठन परिचालनलाई तीव्रता दिएका छन् । नेपाली काँग्र्रेसले उम्मेदवार छनोटको विषयमा आन्तरिक छलफल तीव्र बनाएको जनाएको छ ।

यसअघि एक चरणको बैठकमा उम्मेदवार छनोटको विषयले प्रवेश पाएको र मंगलबार बस्ने जिल्ला कार्यसमितिको बैठकले सम्भवतः उम्मेदवारको नाम सिफारिस गर्ने नेपाली काँग्रेस म्याग्दीका नेता अजयमिलन श्रेष्ठले बताए ।

एमालेले प्रदेशसभाको दुईवटै निर्वाचन क्षेत्रमा संयोजक तोकेर स्थानीयस्तरमा कार्यकर्ता भेटघाट अभियान सञ्चालन गरेको छ । स्थानीय तहबाट आकांक्षीहरुको नाम संकलन गरी जिल्ला कमिटीको बैठकबाट प्रदेश र केन्द्रीय कमिटीलाई सिफारिस गरिने एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले बताए ।

क्षेत्र नं २ को असोज २० गते दरवाङ र १ को २१ गते बेनीमा कार्यकर्ता भेला आयोजना गरेको एमालेले असोज २३ र २४ गते जिल्ला कमिटी बैठक बोलाएको छ ।

माओवादी केन्द्रले प्रदेश र संघको चुनावका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरिसकेको छ ।

संघको प्रत्यक्षतर्फ जिल्ला संयोजक तथा पूर्व सभासद् गोविन्द पौडेल, खुमनाथ सुवेदी र चन्द्रबहादुर घिमिरेलाई सिफारिस गरिएको नेता देवराज सुवेदीले जानकारी दिए । यसैगरी समानुपातिकतर्फ विश्व सेन मल्ल र यामन रोकाको नाम सिफारिस भएको छ । प्रदेशसभाको क्षेत्र नं १ को प्रत्यक्षतर्फ सुवास विक र हरि भण्डारी, २ मा पुनम खड्का, याम रोका र राजेन्द्र शेरचनलाई सिफारिस गरिएको छ ।

प्रदेशको समानुपातिकतर्फ क्षेत्र नं १ मा इन्द्रबहादुर पुन, हेमा छन्त्याल र लालकुमारी पुन तथा क्षेत्र नं २ बाट टेकबहादुर विक र होमलाल पुनको नाम सिफारिस भएको छ । जिल्ला इञ्चार्ज मानबहादुर बुढाको नेतृत्वमा जिल्ला तथा क्षेत्र नं १ मा विनोद केसी र २ मा देवराज सुवेदीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।

प्रदेशसभाको क्षेत्र नं १ मा बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा क्षेत्र नं २ मा मंगला, मालिका र धौलागिरि गाउँपालिका रहेका छन् ।

स्थानीय तह निर्वाचनमा बेनी नगरपालिका, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस तथा मंगला र धौलागिरि गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भएको थियो । स्थानीय तह निर्वाचनमा ७१ हजार मतदाता रहेकामा पछिल्लो समय चार हजार मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।