अन्तर्राष्ट्रिय

दक्षिणी सुडानमा युद्धविरामको अनुगमन फितलो

जुबा । दक्षिणी सुडानको सरकारले युद्धविराम सम्झौता कार्यान्वयनको प्रभावकारी अनुगमन हुन नसकेको जनाएको छ ।
सरकार र विद्रोहीकाबीचमा भएको सम्झौता अनुगमनका लागि बनाइएको निकायबाट सन्तोषजनक काम हुन नसकेको सरकारीपक्षले शुक्रबार जनाएको हो ।
हाल सक्रमण कालको लागि बनेको सरकारका सरकार प्रमुख मार्टीन इलिआ लोमुरोले अनुगमनलाई कडाई गर्न आह्वान गरिने पनि पत्रकारहरुलाई जानकारी दिए ।
‘विद्रोही पक्षले शान्ति प्रक्रियालाई अगाडी बढाउन चाहेका छन् की पछाडी धकेल्न चाहेका छन् भन्ने बारेमा प्रश्न उठेको छ,” सरकार प्रमुख लोमुरो बताएका छन्।
युद्धविरामको सम्झौता भएदेखि अहिलेसम्म सरकारी पक्ष ३१ वटा आक्रमण भएको तथ्य उनले सार्वजनिक गरे ।
शान्ति सम्झौता गरेको विद्रोही पक्ष सुडान पिपुल्स लिबरेसन आर्मीले केहीदिन अगाडी दक्षिणी सुडानको सरकारी पक्षबाट नै युद्धविरामको उलङ्घन भएको आरोप लगाएको थियो ।
पूर्व प्रथम उपराष्ट्रपति रिएक माचार नेतृत्व गरेको विद्रोही समूहले सरकारी पक्षबाट लगातार युद्धविरामको उलङ्घन भइरहेको बुधबार बताएको थियो ।
दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूको रोहबरमा सरकारी पक्ष र विद्रोही पक्षका बीचमा सन् २०१५ को अगस्टमा शान्ति सम्झौता भएको थियो ।