पर्यटन/संस्कृति

भाजपा बरिष्ठ नेता बिजय जोली चन्द्रागिरि केबलकारको भ्रमणमा

चन्द्रागिरि, काठमाण्डौ । भारतीय जनता पार्टीका बरिष्ठ नेता बीजय जोलीले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् ।

चन्द्रागिरि हिल्सका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले जोलीलाई स्वागतगर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

चन्द्रागिरिको आगन्तुकपुस्तिकामा हस्ताक्षर गर्दै जोलीले निर्माण कार्य शुरु गरेकै छोटो समयमा यस ऐतिहासिक स्थानमा स्थापित यस परियोजनाले पर्यटन प्रवद्र्धन गर्नुका साथै धार्मिक आस्था, शान्ति र सहिष्णुता कायम राख्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । भ्रमणका क्रममा जोलीले चन्द्र प्रसाद ढकाल तथा उनको समुहले निर्माण गरेको परियोजनाले एउटा इतिहास कायम गरेको भन्दै बधाई तथा परियोजना सफलताको कामना समेत गरेका छन् ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।