पर्यटन/संस्कृति

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

तेह्रथुम । प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले साताव्यापी पदयात्रा थालेको हो ।

मंगलबार काठमाडौँबाट हिँडेको टोलीले बुधबार तेह्रथुमको वसन्तपुरदेखि टुटे, पाँचपोखरी, तीनजुरे, चौकी, मंगलबारे हुँदै गुफाबजारसम्म पदयात्रा गरेको छ । ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’को नाम दिएको पदयात्रा मंगलबार धरानबाट बुढासुब्बा मन्दिरको दर्शन गर्दै धनकुटाका भेँडेटार, धनकुटा र हिले क्षेत्रका डाँडाकाँडा घुम्दै पदयात्रा यहाँ आइपुगेको हो । वसन्तपुर हुँदै गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रबाट ताप्लेजुङको पाथीभरालाई गन्तव्य बनाएर पदयात्रा थालिएको पदयात्रा महोत्सव मूल समारोह समितिका संयोजक टंक श्रेष्ठले बताए । ‘अलौकिक प्राकृतिक छटाको मनोहरा, अबको गन्तव्य पाथीभरा’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै आयोजित पदयात्राले प्रदेश नं १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन लक्ष्य राखिएको संयोजक श्रेष्ठले बताए ।

“यहाँका आकर्षक गन्तव्यबाट गुराँसको राजधानी टिएमजे, कञ्चनजंघा, मकालु र कुम्भकर्ण क्षेत्रको दृश्यावलोकन गर्दै पाथीभरा पुगेर पाँचथर–इलामबाट फर्किने नयाँ पर्यटकीय मार्ग तयार गर्ने लक्ष्य हो,” श्रेष्ठले भने । पदयात्रा टोलीमा पूर्वका तेह्रथुम, संखुवासभा, ताप्लेजुङ सहितका जिल्लामा जन्मिएर राजधानीमा बसोबास गर्नेहरु बढी छन् । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराई, संखुवासभाका सांसद राजेन्द्र गौतमसहित पूर्वका राजनीतिक नेतृत्व, सामाजिक तथा व्यावसायिक छवि बनाएका व्यक्तिहरु सहभागी छन् । टोलीमा करीब एकसय जना रहेका पदयात्रा समितिका संयोजक श्रेष्ठले बताए । पदयात्रामार्फत यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि यी जिल्लाका समन्वय समिति र स्थानीय तहले पनि सहकार्य गरेका छन् ।

पाथीभरा देवीको मन्दिर पूर्वको धार्मिक, सांस्कृतिक रुपले प्रसिद्ध रहेको र योसँगै आसपास रहेका पर्यटकीय गन्तव्यलाई एउटै सर्किटमा जोडेर पर्यटकीय मार्ग विकास गर्न लागिएको पदयात्रा महोत्सव आयोजना गरिएको मूल समारोह समितिका सह–संयोजक रमेश बरालले बताए । पदयात्रामार्फत लक्ष्य गरिएको पर्यटकीय मार्गमा विश्वको तेस्रो र नेपालको दोस्रो उच्च शिखर कञ्चनजंघाससहित अन्य पाँच वटा आठ हजारमिटर माथिका अग्ला हिमाल रहेका छन् । सोही पर्यटकीय मार्गले २८ प्रजातिका गुराँस पाइने टिएमजे वन र नेपालकै अग्लो ह्यात्रुङ झरना, प्रसिद्ध दिकिछ्योलिङ गुम्बा, फुङफुङे झरना, तिङवुङ पोखरी, फत्ताङलुङ जस्ता आकर्षक गन्तव्य रहेका छन् । गुराँसको राजधानीका रुपमा चर्चित टिएमजे क्षेत्रमा विश्वमा पाइने ४२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति पाइन्छन् ।

यहाँको हिमाली क्षेत्रमा विश्वकै दुर्लभ जन्तु रेडपाण्डा पनि पाइन्छ । पदयात्रामार्फत यहाँ पाइने धार्मिकस्थल, दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, विविध वनस्पतिका बारेमा स्थानीयवासी तथा सरोकारवाला छलफल र संरक्षणमा लाग्नका निम्तिसमेत छलफल र बहसको उठान गर्ने बरालले बताए । पदयात्रा टोलीले बुधबार वसन्तपुरबाट टुटे देउराली, आर।आर। गार्डेन, तीनजुरे–चौकी–मंगलबारे–गुफा क्षेत्रको अवलोकन र साँझमा मेन्छ्यायेम डाँडाबाट सूर्यास्तको दृश्यावलोकन गरेकोे छ ।

बिहीबार बिहान मेन्छ्यायेम डाँडाबाट सूर्योदयका साथै कञ्चनजंघादेखि गौरीशंकरसम्मको दृश्यावलोकन र मिल्के क्षेत्रमा पाइने सबैभन्दा बढी गुराँसको अवलोकन गरी साँघु हुँदै टोली ढुंगेसाँघुमा मदन भण्डारीको जन्मघर अवलोकनपछि तेल्लावुङ ढुंगेसाँघुमा पुग्नेछ ।

शुक्रबार पदयात्रा टोली ताप्लेजुङ फुङलिङमा कार्यक्रम गरी, सुकेटार हुँदै पाथीभरा फेदी पुग्नेछ । वैशाख १ गते नव वर्षमा पाथीभरा डाँडाबाट सूर्योदय र त्यहाँबाट देखिने हिमशृंखलाको दृश्यावलोकन, पाथीभरा देवीको दर्शन गर्दै टोली सुकेटार बस्नेछ ।

आइतबार पाँचथरको हिलिहाङ दरबार, सिलौटे, पौवाभन्ज्याङ, कन्यामलगायत पर्यटकीय क्षेत्रको अवलोकन गरी श्रीअन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्दै काठमाडौँ फर्किनेछ ।