पर्यटन/संस्कृति

गुराँस उत्सवमा रमाए पर्यटक

बागलुङ । यहाँका प्रकृतिप्रेमी पर्यटकले नयाँ वर्ष–२०७५ लाई घुम्टेको लेकबाट स्वागत गरेका छन् । घुम्टेमा आयोजित ‘गुराँस उत्सव’ अवलोकनमा पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टे चढ्न पर्यटकले चार घण्टाको पदयात्रा तय गरेका थिए ।

चैत ३० र नयाँ वर्षको दिन चलेको गुराँस उत्सव गलकोट घुम्टे पर्यटन विकास केन्द्रले आयोजना गरेको हो । विगत ६ वर्षदेखि केन्द्रले नयाँ वर्षको अवसरमा गुराँस उत्सव गर्दै आएको छ । घुम्टेको पर्यटन प्रवद्र्धन र गुराँस संरक्षणको सन्देश दिन खोजिएको केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले बताए । “यो वर्ष पनि उत्सव सफल भएको छ, हजारौँले उत्सव अवलोकन गरेका छन्”, अध्यक्ष बस्नेतले भने ।

नयाँ वर्षको स्वागतसहित गुराँस उत्सव मनाउन कतिपय पर्यटक नयाँ वर्षको अघिल्लो दिनै घुम्टे उक्लेका थिए । बढीजसो पर्यटक नयाँ वर्षको पहिलो दिन शनिबार बिहान घुम्टे चढेका थिए । उत्सवमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तलन, ‘क्याम्प फायर’ लगायतका कार्यक्रम भएका थिए । घुम्टेको धुरीमा रहेका सिद्ध र भैरबको मन्दिरमा पूजाआजा गर्ने भक्तजनको पनि उत्तिकै भीड लागेको थियो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य मना केसीले घुम्टेको धुरीमा राष्ट्रिय झण्डा फहराउनु भएको थियो । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र नयाँ वर्षको दिनलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ ।

घुम्टेमा रहेको घना जंगलमा विभिन्न प्रजातिका गुराँस फुल्ने गर्छन् । गुराँस फुल्ने याममा पर्यटक लोभ्याउन उत्सव सहयोगी बनेको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । विसं २०७० मा घुम्टेमै भएको मैत्रीपूर्ण पर्यटन भेलापछि गुराँस उत्सव गर्न शुरु गरिएको हो । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टेलाई पर्यटकीय गन्तव्य बनाउन केन्द्र लागिपरेको छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वनक्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ ।