पर्यटन/संस्कृति

सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा विद्यार्थीले भ्रमण गरे

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्पदा दिवसका सन्दर्भमा हनुमानढोकादेखि स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा करीब १०० विद्यार्थीलाई आज भ्रमण गराइएको छ ।

एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका प्राचीन महत्वका सम्पदा क्षेत्रबारे उनीहरुलाई सिकाउने र संरक्षण गर्न अभिप्रेरित गर्ने उद्देश्यले उनीहरुलाई त्यस क्षेत्रको अवलोकन गराइएको छ ।

कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई मरुगणेश, काष्ठमण्डप, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, बञ्जाहिटी, नरदेवी, लोकेश्वर गल्ली, भुरुङ्खेल, डल्लु चौतारा, भुइखेल हुँदै स्वयम्भू क्षेत्रबारे अध्ययन गराइएको हो । हनुमानढोका स्वयम्भूनाथसम्मको दूरी २।२ किलोमिटर रहेको त्यस क्षेत्रमा स्थानीय बाजागाजा, ब्यानरसहित उनीहरुलाई घुमाइएको छ ।

विश्व सम्पदा उत्सव मूल समारोह समितिले आयोजना गरेको उक्त कार्यक्रममा सांसद जीवनराम श्रेष्ठले मध्यकालदेखिका सम्पदाले भरिएको त्यस क्षेत्रलाई सम्पदामार्गका रूपमा विकास गरेर नयाँ पर्यटकीय गन्तव्यस्थल बनाउन खाँचो रहेको औँल्याए ।

समितिका सचिव डिल्लीराम तुलाधरले प्राचीन समयमा निर्माण भएका विभिन्न शैलीका नेपाली कलाले तत्कालीन समाजको सभ्यता र सम्पन्नतालाई अनुमान गर्न सकिने बताउँदै अहिलेको पुस्ताले त्यसलाई संरक्षण तथा प्रवद्र्धन गरी आयआर्जन गर्न सकिने बताए ।

काठमाडौँ महानगरपािलका वडा नं १५, १८ र २० का वडाध्यक्ष क्रमशः ईश्वरमान डंगोल, न्हुछे डंगोल र राजेन्द्र महर्जनले आ–आफ्ना क्षेत्रमा रहेका संस्कृति, परम्परा र सम्पदाको मर्मत संरक्षणमा प्रतिबद्ध रहने जनाउनुभयो । यही वैशाख ५ गते अन्तर्राष्ट्रिय सम्पदा दिवस मनाइँदैछ ।