स्वास्थ्य

परिवार नियोजन साधन लुकेर प्रयोग गर्नुपर्ने बाध्यता

लिवाङ, रोल्पा । कुनै कुनै विवाहितले अझै पनि श्रीमान्सँग लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका छन् ।
पितृसत्तात्मक सोच, चिन्तन तथा धार्मिक, सांस्कृतिक मान्यताका कारण लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दैआएका महिलाका अनुसार कतिपय परिवारमा अझै पनि परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ भन्ने मान्यता छ । कतिपय परिवारमा छोरा जन्माउने लालसामा श्रीमान्ले साधन प्रयोग गर्न मानिरहेको अवस्था छैन । सोका कारण महिला लुकेर भए पनि आफू सुरक्षित बन्न चाहन्छन् ।

रोल्पा नगरपालिका– १ सल्लीबोटमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका बमकुमारी घर्तीअनुसार उनको कार्य क्षेत्रमा एक दलित महिलाका श्रीमान्ले परिवार नियोजनका साधन प्रयोग गर्न पटक्कै मानेनन् जसका कारण त्यो परिवारमा छभन्दा बढी सन्तान जन्मिए । स्वास्थ्य स्वयंसेविकाको सल्लाहबमोजिम केही महिनाअघि उनले श्रीमान्लाई जानकारी नदिई इम्प्लान्ट राखिन् । सो कुराको जानकारी भएपछि उनका श्रीमान् रिसले आगो बने रे श्रीमतीको इम्प्लान्ट राखेको हात काटिदिनेसम्मको धम्की दिए । घर्तीका अनुसार आफूलाई सन्तानको रहर पुगिसके पनि उमेर चढ्दै जाँदासम्म सन्तान जन्माइरहनुपर्ने बाध्यता भएपछि उनले लुकेर परिवार नियोजनको साधन प्रयोग गरेकी थिइन् ।

परिवार नियोजनका साधन प्रयोग गरे पाप लाग्ने विश्वासका कारण साधन प्रयोग गर्न नमानेको स्वास्थ्य स्वयंसेविकाको भनाइ छ । उनका अनुसार राखिसकेको इम्प्लान्ट तत्काल निकाल्न नमिल्ने, अवधि पुगेपछि निकाल्न सकिने भनेर सम्झाइबुझाइ गरेपछि मात्र उनका श्रीमान् शान्त भएका थिए । पटक पटक स्वयंसेविका उनको घरमा जाँदै सो विषयमा छलफल चलाउँदै गर्न थालेपछि सो जोडीमा परिवार नियोजनको साधन प्रयोगका बारेमा आपसी समझदारी बढ्न थालेको घर्तीको भनाइ छ ।
यस्तै एक सरकारी कार्यालयका कर्मचारीको छोरा जन्माउने चाहनामा तीन छोरी जन्मिसकेका छन् जसका कारण यो जोडीमा पनि परिवार नियोजनका साधन अपनाउने विषयमा विवाद चलिरहेको छ । श्रीमान् छोरा जन्माउनकै लागि परिवार नियोजनका साधन अपनाउन चाहँदैनन तर श्रीमती भने दुई छोरीमै सन्तानको रहर पुगेको बताउँछिन् । सोका कारण श्रीमतीले लुकेर परिवार नियोजनको साधन प्रयोग गर्दै आएकी छन् ।

श्रीमतीले परिवार नियोजनको साधन प्रयोग गर्दै आएको विषयमा उनका श्रीमान्लाई थाहा छैन । “लुकेर औषधि खाने गर्छु, थाहा पाए श्रीमान् तथा घरपरिवारले मारिहाल्छन् नि”, उनले हाँस्दै भनिन् ।

परिवार नियोजनको साधनका बारेमा नौ जनासँग गरिएको कुराकानीमा चारजना महिलाले लुकेर साधन प्रयोग गर्दैआएको बताए । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी कुलबहादुर डाँगीअनुसार रोल्पामा परिवार नियोजनका साधन प्रयोग गर्नेमा पुरुषभन्दा महिला बढी छन् । कतिले आपसी समझदारीबाट गरेको भए पनि केहीले लुकेर प्रयोग गर्दैआएको पाइन्छ । उनले भने, “शैक्षिक तथा चेतनास्तर कम भएका परिवारमा मात्र नभई पढेलेखेका तथा जानेबुझेका परिवारमा समेत यो समस्या छिपेर रहेको छ ।”

स्वास्थ्यकर्मी डाँगीअनुसार श्रीमान्, श्रीमती तथा तिनका परिवारबीच आपसी समझदारी नहुँदा महिलाले लुकेर परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने बाध्यता रहिआएको हो । उनले भने, “पढेर मात्र हुँदैन, चेतनास्तरमा वृद्धि हुन र समाज परिवर्तन गर्नमा सम्बन्धित व्यक्तिको पारिवारिक पृष्ठभूमि तथा उसको समुदाय÷सम्प्रदायको महत्वपूर्ण भूमिका रहन्छ ।”