पर्यटन/संस्कृति

केभहिल विकासको पर्खाइमा

बेनी, म्याग्दी । बेनी नगरपालिका– ९ गाजनेको धुरीमा अवस्थित केभहिल पर्यटकीय सम्भावनाले युक्त हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

केभहिल प्राकृतिक सुन्दरता र हिमशृङ्लाको दृश्यावलोकनका लागि प्रसिद्ध छ । यहाँबाट धौलागिरि हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । यहाँ रहेको जगन्नाथ मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिकोणले प्रसिद्ध छ । सो मन्दिर केभहिलको नजिकै रहेको छ ।

मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बागलुङ, स्याङ्जा र कास्कीका विभिन्न ग्रामीण क्षेत्रको तथा म्याग्दीलाई नियाल्न सकिने स्थानीयवासी शिव बानियाँ बताउँछन् ।

बेनीबजारदेखि नजिकै पुलस्त्य पुलहाश्रम, ढोल्ठान दरबार, जगन्नाथ मन्दिर रहेको गाजनेको धुरी, टोड्केको धुरीलगायत क्षेत्रको प्रचारप्रसार गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । सदरमुकाम बेनी बजारदेखि करीब डेढ÷दुई घण्टाको पैदल यात्रापछि केभहिल पुग्न सकिन्छ । जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बानियाँ केभहिल क्षेत्र प्रदेश नं ४ कै उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने बताउनुहुन्छ ।

“केभहिलबाट माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरि र धौलागिरि हिमाल मज्जाले देख्न पाइन्छ”, पौलस्त्य पुलह क्षेत्र विकास समितिका अध्यक्ष लीलाबहादुर बानियाँले भने । केभहिल नजिकै रहेको गाजने गाउँलाई मादक पदार्थ र मांसहार निषेधित क्षेत्र बनाइएको छ । केभहिलबाट आधा घण्टाको दूरीमा रहेको जगन्नाथ मन्दिर भारतको उडिसा राज्यमा रहेको जगन्नाथ मन्दिरकै ढाँचामा निर्माण गरिएको छ । महायज्ञ गरेर संकलित रु एक करोड आठ लाखको लागतमा उक्त मन्दिर पुनःनिर्माण गरिएको हो ।

विशाल, बलशाली र समृद्ध चौबिसे राज्यको लामो समयसम्म गाजने र ढोलठाना राजधानी रहेको इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘ऐतिहासिक पर्वत राज्य’ नामक ग्रन्थमा उल्लेख छ । विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीलाई बनाएको उक्त ग्रन्थमा उल्लेख छ ।

बेनी नगरपालिकाभित्र रहेका टोड्के, जगन्नाथ, पौलस्त्य पुलहाश्रम, जालपा, महारानी, गलेश्वर, ज्यामरुककोट, भकिम्लीको स्वर्गाश्रमजस्ता ऐतिहासिक र धार्मिक महत्वका क्षेत्रको संरक्षण र उपयोगको चाँजोपाँजो मिलाउने अभियानमा बेनी नगरपालिका लागेको नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।