बाग्मती

विश्व कीर्तिमान राख्न वक्तव्य शुरु

काठमाडौँ । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले विश्वको सबैभन्दा लामो वक्तव्य राखेर विश्व कीर्तिमान राख्ने काम शुरु गरेका छन् । केसीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम राख्नका लागि आज बिहान ६ बजेदेखि वक्तव्य दिन शुरु गरेका हुन् । उनले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य राख्न शुरु गरे ।

राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिने अभियानका मिडिया संयोजक निर्मल अर्यालले जानकारी दिए । नेपालको ७७ वटै जिल्ला र भारतको छ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिससकेका केसी एक आध्यात्मिक साधक हुन् । केसीले २१ दिन जल उपबास र छ महिना मौन ध्यान साधना पूरा गरिसकेका छन् ।

यसअघि ८० घण्टा लगातार वक्तव्य दिएर पनि प्राविधिक कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन नसक्नुभएका उनले विश्व रेकर्ड राख्ने अभियानका अनुसार आजदेखि वक्तव्य राख्न शुरु गरे । विश्वको सबैभन्दा लामो ८१ घण्टा १६ मिनेट बोलेर भारत केरेलाका केपी भाल साराजानले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराए ।