बाग्मती

चाबहिलस्थित बौद्ध चैत्य सरसफाइ

काठमाडौँ । चाबहिलस्थित बौद्ध चैत्यको दर्शनका लागि श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि आज विशेष सरसफाइ गरिएको छ ।

करीब दुई हजार ३०० वर्ष पुरानो उक्त चैत्यको दर्शनका लागि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि नेपाली सेना, प्रहरी, स्थानीयवासीलगायतले सफासुग्घर तथा रङरोगन गरेका छन् । चारुमती बुद्धिष्ट मिसन नेपालका अध्यक्ष भिक्षु तपस्सी धम्मले श्रीलङ्काका राष्ट्रपति सिरीसेना बिम्स्टेकको बैठकमा सहभागी हुन आउने क्रममा यही भदौ १७ गते उक्त चैत्यमा आउने कार्यक्रम रहेको जानकारी दिए ।

विहारले शान्तिपूर्ण तथा सहअस्तित्वको समाज निर्माणका लागि बुद्धका शिक्षा तथा उपदेशलाई फैलाउन विभिन्न धार्मिक, नैतिक, सामाजिक शिक्षा दिँदै आएको उनले बताए ।

कामपा–७ पर्ने उक्त चैत्यलाई धन्दो चैत्यसमेत भनिन्छ । सम्राट अशोकले आफ्नो छोरी चारुमतीको नेतृत्वमा धर्मदूत पठाएर निर्माण गरिएको इतिहास पाइन्छ । ठूलो नरसंहार गरेर सम्राट भएका अशोकले बौद्ध दर्शन तथा उपदेश प्रचारका लागि काठमाडौँ, श्रीलङ्का, म्यान्मा, थाइल्याण्डलगायत विभिन्न मुलुकमा आफ्ना छोरा, छोरी तथा विश्वासिला दूत पठाएका थिए ।