प्रदेश 1

हात्तीकिल्लामा कुकुर आतङ्क

भद्रपुर । झापाको अर्जुनधारा नगरपालिका– ८ हात्तीकिल्लामा भुस्याहा कुकुरको टोकाइबाट खसी बोका मरेपछि स्थानीयवासी त्रसित छन् । दैनिक दर्जनको सङ्ख्यामा हुल बाँधेर हिँड्ने जङ्गली कुकुरले टोकेकै कारण करीब ३५ स्थानीयवासीको खसीबोका मरेका छन् । कुकुरको टोकाइबाट एक हप्तायता सोही क्षेत्रका बासिन्दाका ४० खसीबोका मरेका छन् जसको मूल्य रु तीन लाखभन्दा बढी रहेको सोही वडाका वडाध्यक्ष गोपीचन्द गौतमले बताए ।

शिशुहरुको स्कुलको शुल्क तिर्न र दशैँखर्च टार्न भनी पालिएका खसी यसरी भुस्याहा कुकुरले मारिदिँदा आर्थिक क्षति पुगेको बताउँदै भुस्याहा कुकुर नियन्त्रण र क्षतिपूर्तिका लागि पीडित पक्षले वडा नं ८ का वडाध्यक्षलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । उनका अनुसार अर्जुनधारा–३ मा रहेको शिविरबाट भुटानी शरणार्थी अमेरिकालगायत देशमा पुनर्वास भएपछि उनीहरुले पालेका कुकर जङ्गल पसेका थिए । तीनै जङ्गली कुकुरले यतिबेला गाउँ पसेर आतङ्क मच्याएको उनको भनाइ छ ।

पीडित लक्ष्मी गौतमले खोरमा राखेका खसीबोका जोगाउनका लागि जाग्राम बस्दै आएको बताए । भुस्याहा कुकुरले टोकेर उनको प्रतिवटा रु १० हजार पर्ने चार खसी मरेका छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले भुस्याहा कुकुर मार्ने अधिकार नगरलाई नभएको हुँदा समस्या भइरहेको बताउँदै यसको नियन्त्रणका लागि तत्काल जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिए ।