कृषि

तुलसा बनिन सफल उद्यमी

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढामगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकी छन् । डेढ दशकदेखि सो पेशा अङ्गालेकी उनले अहिले च्याउ उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक रु सात लाख बचत गर्न सफल भएकी छन् ।

शुरुका वर्षमा गङ्गामाला च्याउ समूह खोलेर च्याउखेतीको शुरुवात गरेकी उनले अहिले आफनै च्याउ प्रशोधन केन्द्रसमेत सञ्चालन गरेका छन् । चौध वर्ष स्वयंसेविका भई सेवा गर्नुभएकी तुलसा जिल्ला भ्रमणमा गएको बेलामा चितवनमा गरेको च्याउखेती देखेपछि आफू यसतर्फ आकर्षित भएको बताउन्छिन् ।

विसं २०६० मा आफूले पहिलोपटक गाउँका ११ जना महिलालाई आबद्ध गराएर गङ्गामाला च्याउ समूह गठन गरी गाउँमा एक कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उनले सुनाइन् । तीन वर्षसम्म समूहबाट भएको आम्दानीले गाउँमा एक कठ्ठा जमीन किनेर महिलाले आफ्नै श्रमदान र लगानीले पक्की घर बनाएर अहिले समूहमा आवद्ध महिला त्यसमा च्याउखेती गरिरहेका छन् ।

उनले भने, “अहिले भने आफूले आफ्नै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु । जिल्लामा हुने प्रायः सबै ठाउँमा च्याउखेतीको बारेमा तालीम दिन प्रशिक्षक भएर जाने गरेकी छु ।” रु तीन लाखबाट आफ्नो निजी च्याउ उद्योगको शुरुवात गरेको बताउने उनले अहिले झण्डै रु एक करोड मूल्य बराबरको लगानी गरेर पक्की घर तथा च्याउखेतीको लागि आवश्यक सामग्री जोड्नसमेत सफल भएकी छन् ।

उहाँलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रुपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ । “शुरुशुरुमा गाउँघर, छरछिमेक तथा आफन्तले महिला भएर पनि कति दिनभरि बाहिर डुल्छे घरमा कहिलै नबस्ने भन्दै उहाँलाई नराम्रो दृष्टिकोणले कुरा काटेको सुन्दा उनको मन खिन्न हुन्थ्यो । ‘‘तर पनि ती कुरालाई कुनै महत्व दिइन” उनले भनिन।

मनमनै सोच्थे म पनि कुनै दिन मेहनत गरेर एक सक्षम महिला उद्यमी हुन्छु, आर्थिक रुपमा आफै आत्मनिर्भर हुन्छु विगतका दिनलाई स्मरण गर्दै उनी भन्छिन् । दुई सन्तानकी आमा र सामान्य लेखपढ गरेकी तुलसालाई उहाँका श्रीमान्को साथ सहयोग भने सधैँ नै रहेको छ ।

तुलसाले जिल्ला तथा केन्द्रीयस्तरका पुरुस्कारसमेत प्राप्त गरिसक्नु भएको छ । यसपटक पनि उनलाई तुलसीपुर उपमहानगरपालिले केही दिन अगाडि उत्कृष्ट महिला उद्यमी भनि पुरस्कृत गरेको थियो । कृषि विकास कार्यालय दाङ, लघुउद्यम कार्यालय दाङले पनि उहाँलाई सहयोग गदै आएको छ ।

अहिले उहाँले उत्पादन गर्ने ताजा च्याउ, च्याउको अचार, सुकुटी दाङ तथा जिल्ला बाहिरका ठूलाठूला शहरमा जाने गरेको छ । तर उनको अबको चाहना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म प¥ुयाउने रहेको छ । उनले बजारका लागि सबैसँग सहयोगको अपेक्षा समेत गरेकी छन्।

अहिले उहाँले ताजा च्याउप्रति केजी रु १८० देखि २०० सयसम्म, सुकुटी गराएको च्याउ प्रतिकेजी २५० देखि २८० सम्म र अचारप्रति केजी रु ४०० देखि रु ५०० मा बिक्री गदै आएकी छन् ।

सेवाग्राही उनको उद्योगमा च्याउ किन्न आफै जाने गरेका छन् । कडा परिश्रम पनि गर्न नपर्ने, स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक मानिने च्याउखेती यहाँ लोकप्रिय छ । उनी भन्छिन्, “धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जाने गर्छन् । आफनै गाउँठाउँमा थोरै लगानीमा यस्ता आयआर्जनमूलक व्यवसाय गरे यही आत्मनिर्भर हुन सकिन्छ ।”

उनी भन्छिन्, “मेहनतका साथ काम गर्नेहो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ ।” सधैँ चुलो चौकामा मात्र सीमित रहने परम्परालाई तोड्दै उनले गरेको कामको सिको अरु महिलाले पनि गर्ने हो भने महिलाको आर्थिक सशक्तीकरणमा ठूलो टेवा पुग्दछ ।