प्रदेश 1

करलाई जनताको सेवासँग जोड्न आग्रह

विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले करलाई जनताको सेवासँग जोड्न आग्रह गरेका छन् । प्रदेश नं १ को प्रदेशसभामा कर तथा गैरकर लगाउने सम्बन्धमा प्रस्तावित विधेयकमा प्रदेशसभाका सदस्यले उठाएको प्रश्नको जवाफमा आज उनले सो कुरा बताए ।
उनले हाम्रो बजेट कर तथा राजश्वमुखी भएकोले इमान्दारीपूर्वक कर तिरेमा मात्र राष्ट्रको विकास हुने कुरामा जोड दिए । कर क्षमताअनुसार लाग्ने र लगाउने भएकाले सेवा विस्तार तथा ढुवानीमा कर नलाग्ने जानकारी दिँदै मन्त्री आङ्बोले संविधानको धारा २३६ मा प्रदेश सरकारले लगाएको कर आकर्षण नहुने बताए ।

योजनामन्त्री आङ्बोले प्रदेश सरकारले बनाएको राजश्व परामर्श समितिकै सुझावको आधारमा निकासी शुल्क लगाएको बताउँदै स्थानीय तहमा स्रोतलाई बलियो बनाउन लगाएको करले जनतालाई नै फाइदा पुग्ने स्पष्ट पारे । उनले पटके कर संविधान विपरीत भएको भन्दै स्थानीय तहको आर्थिक ऐनमा देखिएको समस्या समाधान गर्न आवश्यक छफफल भइरहेको जानकारी दिए ।