प्रदेश 1

पानी उद्योगको अनुगमन

बनियानी, झापा । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको आज अनुगमन गरेका छन् । मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री घिमिरेले यहाँका पानी उद्योगको अनुगमन गरे।

पानी जीवनको महत्वपूर्ण आधार भएकाले पानीको शुद्धता अत्यावश्यक भएको मन्त्री घिमिरेले बताए । “प्रदेश सरकार स्वच्छता र शुद्धताको अभियानमा लागेको छ”, उनले भने, “सार्वजनिक शौचालय र विद्यालय सुधारको लागि अभियान पनि चलाएको छ ।”

अनुगमनका क्रममा झापाका तृष्णा, लाइफलाइन, गोर्खालगायत आधा दर्जन पानी उद्योगको नमूना सङ्कलन गरिएको छ । सङ्कलित नमूनाको नतिजा एक साताभित्र सार्वजनिक गरिने जनाइएको छ । अनुगमन कार्यमा घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख चन्द्र मिश्र, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, कर्मचारी, पत्रकारको टोली सहभागी थिए ।