प्रदेश 1

काँग्रेस नेतृ शैलजा आचार्य पुरस्कारबाट चार पत्रकार पुरस्कृत

विराटनगर । नेपाल प्रेस युनियन मोरङले ‘शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार मदनबाबु प्रसार्इँ, नरेन्द्र बस्नेत र रञ्जिता पोखरेललाई पुरस्कृत गर्ने भएको छ ।

युनियनको स्थापना दिवसका अवसरमा उनीहरुलाई सो पुरस्कार प्रदान गर्ने छ । पुरस्कार छनौट समितिको आज यहाँ बसेको बैठकले उनीहरुलाई उक्त पुरस्कारबाट पुरस्कृत गर्न सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य कुमोद अधिकारीले जानकारी दिए ।

यसैगरी राष्ट्रिय समाचार समिति विराटनगरकी पूर्व समाचारदाता भारतीय उपाध्यायद्वारा आफ्नो आमाबुबाको नाममा यसै वर्षदेखि स्थापना गरिएकोे ‘अम्बे–मुरारी महिला पत्रकारिता पुरस्कार’ बाट सञ्चारकर्मी सुशीला पाठकलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

उक्त दुबै पुरस्कारको राशि जनही रु ११ हजार र सम्मान पत्र रहेको छ ।

त्यसैगरी युनियनको आगामी भदौ ३० गते हुने आठौँ अधिवेशनमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङका प्रेस संयोजक शेखर रेग्मी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका प्रेस संयोजक कौशल निरौला, उर्लाबारीका नगर प्रमुख खड्ग फागोका प्रेस संयोजक रुपेन्द्र शेर्मा र लेटाङ नगर प्रमुख शङ्कर राईका प्रेस संयोजक प्रशान्त निरौलालाई सम्मान गर्ने युनियनका जिल्ला अध्यक्ष मीनकुमार नवोदितले बताए ।

मोरङबाट नेपाल पत्रकार महासङ्घ प्रदेश–१ को सदस्यमा निर्वाचित ब्रम्हदेव यादव र सुनिल पोखरेललाई पनि सम्मान गरिने युनियनले जनाएको छ ।