प्रदेश 1

फरक फरक बलात्कारको आरोप लागेका चार अभियुक्त कारागार चलान

भद्रपुर । बलात्कार गरेको अभियोगमा पक्राउ परेका अर्जुनधाराका चार जनालाई पुर्पक्षका लागि आज कारागार चलान गरिएको छ भने एक नाबालकलाई सुधारगृह लगिएको छ ।

कारागारको थुनामा लगिएकामा वडा नं ११ का ६८ वर्षीय मानबहादुर बानियाँ, कनकाई–३ का ४२ वर्षीय निलमप्रसाद सङ्ग्रौला, अर्जुनधारा–९ का २७ वर्षीय पेमा तामाङ र सोही ठाउँ बस्ने २८ वर्षीय बालकुमार घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा जिल्ला अदालतले सोमबार चारै जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए । उनका अनुसार बालिका बलात्कारकै अभियोगमा पक्राउ परेका १४ वर्षीय नाबालकलाई भक्तपुरको सुधारगृहमा लैजान अदालतले आदेश दिएको छ ।

प्रहरीका अनुसार भदौ १४ गते अदालतले ती नाबालकलाई सुधारगृहमा पठाउने आदेश दिएको हो । ती नाबालकले गत साउन १४ गते ४ वर्षीय बालिकालाई बलात्कार गरेका थिए । थुनामा लगिएका ६८ वर्षीय मानबहादुर बानियाँले साउन २५ गते ९ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै थुनामा गएका निलमप्रसाद सङ्ग्रौलाले गत असार १० गते २३ वर्षीया महिलालाई बलात्कार गरेको भनी अभियोग लागेको छ भने पेमा तामाङ र बालकुमार घिमिरेले १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ ।