प्रदेश 1

विधेयक– प्रस्तुत

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा ‘सिँचाइ सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ दफावार छलफलका लागि प्रस्तुत गरिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सो विधेयक दफावार छलफलका लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा पठाइयोस्’ भनेर बैठकमा प्रस्ताव गरेका थिए ।

बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य मोहनबहादुर खड्काले ओखलढुङ्गा जिल्लामा सडक डिभिजन कार्यालयको लापरवाहीका कारण विकास निर्माणमा कठिनाइ भएकाले प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले जिल्लामा विकास निर्माणका लागि ठेक्कामा लागेका सडक र भवन अधुरो रही अलपत्र परेकाले जनताको व्यापक गुनासो रहेको छ भने ।

प्रदेशसभाका अर्का सदस्य हीराबहादुर थापाले झापा जिल्लामा भू–माफिया सक्रिय रहेर सार्वजनिक जग्गाको धनीपूर्जा बनाउने गरेकाले त्यस्तो जग्गाको पूर्जा खारेजीको माग गरे । प्रदेशसभाको अर्को बैठक यही भदौ २२ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ ।