कृषि

आलु र तरकारीका लागि रु पाँच करोड

नुवाकोट । नुवाकोटमा तरकारी र आलुको उत्पादन वृद्धि गर्न चालू आर्थिक वर्षमा रु पाँच करोड खर्च गरिने भएको छ । यहाँ सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु र तरकारी क्षेत्र कार्यक्रमले चालू आवको लागि रु पाँच करोड बढी खर्चिने भएको हो ।

तरकारी क्षेत्रको लागि रु दुई करोड ५१ लख ८६ हजार र आलुका लागि दुई करोड ५१ लाख बजेट रहेको छ । जिल्लामा तरकारी क्षेत्र कार्यक्रम गत आवबाट लागू भएको हो । गत आवमा रु ८५ लाखमात्र बजेट थियो । परियोजना प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले तरकारी खेतीको विकास र विस्तारसहित बजारीकरणको समेत काम गर्न सो कार्यक्रम सञ्चालन भएको बताए ।

तरकारी क्षेत्रले नुवाकोटका चार गाउँपालिकालाई समेटेको छ । ककनी गाउँपालिका १ देखि ७, शिवपुरी गाउँपालिकाको वडा नं ६, ७ र ८, पञ्चकन्या गाउँपालिकाको वडा नं ३, ४ र ५ तथा दुप्चेश्वर गाउँपालिकाको वडा नं ३ र ५ लाई समेटेको छ । तरकारी क्षेत्रले जिल्लामा २५० हेक्टर क्षेत्रफल समेटेको छ । नुवाकोटमा तीन हजार २३८ हेक्टर जमीनमा तरकारीखेती हुँन्छ । अहिले २५० हेक्टरबाट कार्यक्रम शुरु गरिए पनि यसको क्षेत्र विस्तार हुँदै जाने डा. गैरेले बताए ।

तरकारी क्षेत्रमा ७६ कृषक समूह, सहकारी र उद्यमी संलग्न छन् जसमा एक हजार ३७ किसान प्रत्यक्षरुपमा सहभागी भएर तरकारी खेती गरिरहेका छन् । कार्यक्रम क्षेत्रले समेटेको गाउँमा १४ लाख तरकारीका विरुवा उत्पादन गर्ने क्रममा रहेको तरकारी जोन सञ्चालन समितिका संयोजक रामप्रसाद पुडासैनीले बताए । “१५ वटा वडामा १५ नर्सरी स्थापना भएको छ ।

गत वर्ष १२ वटा स्थायी टनेल निर्माण गरेर एक हजार २४८ वर्गमिटर तरकारीखेती गरिने क्षेत्र वृद्धि भएको छ । यस वर्ष साना सिँचाइ, थोपा सिँचाइ, स्थायी टनेल निर्माण, कृषकलाई तालीम, भकारो सुधार कार्यक्रम, प्रविधि सहयोगलगायतका कार्यक्रम परियोजनाले सञ्चालन गर्ने प्रमुख डा. गैरेले बताए ।

नुवाकोटमा आलुको विकास र विस्तारको लागि कार्यक्रम सञ्चालन हुने भएको छ । डेढ वर्षअघिबाट शुरु भएको आलु क्षेत्र परियोजनाको लागि चालू आवमा रु दुई करोड ५१ लाख बजेट विनियोजन गरिएको छ । आलु खेतीले लिखु, पञ्चकन्या, ककनी र सूर्यगढी गाउँपालिकाको ५८० हेक्टर क्षेत्रफल ओगटेको छ । यस कार्यक्रममा ४० कृषक समूह, २४ सहकारी, १३ उद्यमी र पाँच हजार ५२९ किसान आबद्ध भएको प्रमुख डा. गैरेले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत सो क्षेत्रमा गत वर्ष ४४७ माटो परीक्षण, बीउ आलु वितरण, १० साना सिँचाइ योजना निर्माण, प्रविधि सहयोगजस्ता कार्यक्रम सञ्चानल भएको थियो । चालू वर्षमा आलु चिप्स मेशिन स्थापना, ५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण, कृषि चुन वितरण कार्यक्रम तय भएको छ । नुवाकोटमा आलुको उत्पादन राम्रो हुँदै आएको छ । थानसिङ, ढिकुरेलगायतका फाँटबाट किसानले हरेक वर्ष करोडौँको आलु उत्पादन गरी बिक्री गर्दै आएका छन् ।