बाग्मती

चट्याङ लागेर बालकको मृत्यु, दुई घाइते

हेटौँडा । मकवानपुरका छुट्टाछुट्टै स्थानमा आज अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको हो । उनी आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिँगनमा ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटौँडा उपमहानगरपालिका–७ की ४० वर्षीया सावित्री लुइँटेल घाइते भएका छन् । लुइँटेललाई खाना पकाउन लाग्दा चट्याङ लागेको थियो । स्याङ्तान र लुइँटेलको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको हेटौँडा अस्पतालले जनाएको छ ।