कृषि

उपभोक्ता निराश

पर्वत । विगतमा नागबेली झारबाट मनग्य आम्दानी गर्दै आएका यहाँका बासिन्दा अहिले निराश छन् । सामुदायिक वनमा प्रसस्त मात्रामा पाइने नागबेली झार बिक्री हुन छाडेपछि उनीहरु निराश बनेका हुन् । जलजला गाउँपालिका–९ बनौं, वडा नं ५ लेखफाँट, ६ शालिजा तथा मोदी गाउँपालिका–१ भुकताङ्ले र क्याङमा नागबेली पर्याप्त पाइन्छ । नागबेली झारबाट उत्पादित पाउडर विदेश निर्यात गर्दै आएका किसान हाल निराश छन् । दुई वर्षयता नागबेलीको पाउडर निर्यात हुन सकेको छैन ।

उपभोक्ताले सामूहिक रुपमा नागबेली सङ्कलन गरी बिक्री गर्दै आएका थिए । हाल नागबेली बिक्री हुन छाडेको छ । अहिले लाखौं रुपैयाँको सो झार वनमै कुहिन थालेको छ । स्थानीयस्तरमा लहरे झार, सिन्धुरे, वनमाला, सिमाललगायत झार विवाह व्रतबन्ध लगायतका काममा प्रयोग गरिँदै आएको थियो । सो झारको कोसाबाट विभिन्न शृृङ्गारका सामाग्री बन्ने थाहा पाएपछि किसान उत्साहित भएका थिए ।

कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्याम प्रकाश पुर्जाका अनुसार यहाँका तीन सामुदायिक वन समूहले छुट्टाछुट्टै समूहमा नागबेली कोसा सङ्कलन गर्ने गरेका थिए । सङ्कलन गरिएको कोसालाई घाममा सुकाएर प्रशोधन गरी पाउडर बनाएर बिक्री गरिँदै आएको थियो । दुई वर्षअघि लोहोसे सामुदायिक वन उपभोक्ता समूह खुइजुरीबाट दुई सय किलो तथा छहेरे तथा कमेरा पाखा वन समूहबाट १५० किलो पाउडर उत्पादन गरी बिक्री गरिएको थियो । चिसापानी वन समूह लेस्पारले भने कोसा नै बिक्री गरेको थियो । किसानले प्रतिकिलो रु सात सयदेखि रु आठ सयसम्म आम्दानी गर्ने गरेका थिए । जिल्ला वन कार्यालयका अनुसार जिल्लामा १० टन भन्दा बढी पाउडर उत्पादन हुने अनमान गरिएको छ ।