कृषि

किसानलाई रासायनिक मल सजिलै बिक्री वितरण गर्न निर्देशन

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकले किसानलाई रासायनिक मल सर्वसुलभरुपमा बिक्री वितरण गर्न निर्देशन दिइएको छ ।

समितिका सभापति सत्यनारायण शर्मा खनालको अध्यक्षतामा बसेको बैठकले खेतिपातीको मौसममा डिएपी र युरिया मलको अभावले किसान मर्कामा परेको हुँदा उनीहरुको समस्यालाई समाधान गर्न निर्देशन दिएको हो ।

नेपाल रासायनिक मलमा पूर्णरुपले परनिर्भर छ । आजसम्म भारतबाट नेपालले मलको आयात गर्दै आएको छ । नेपाली किसानका लागि हालको मागअनुसार दुई लाख ८० हजार मेट्रिक टन मल आवश्यक पर्छ । किसानलाई दोस्रोपटक अनुदानको रासायनिक मल रु २०६५/६६ बाट वितरण गर्न शुरु गरिएको हो । यो वर्ष जम्मा रु छ अर्ब बराबरको युरिया, डिएपी, पोटास, फस्फोरस मलमा राज्यले अनुदान दिएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको अर्को बैठक सोमबार ११ बजे बस्ने भएको छ । भोलिको बैठकमा खाद्य तथा खाद्य सम्प्रभुतासम्बन्धी विषयको दफावार छलफल हुने समितिले जनाएको छ ।