बाग्मती

नारायणगढ–मुग्लिनको बाटो भएर आज यात्रा गर्दै हुनुहुन्छ ? यो अवश्य पढ्नुहोला !

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । सो स्थानमा आज बिहान १ः३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो । खनालले भने, “निकै ठूलो पहिरो छ, पन्छाउन दिनभर लाग्छ ।” सो ठाउँमा तीन लोडर र दुई एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् । १०० मिटर सडक पहिरोले ढाकेको छ । खनालका अनुसार १०० मिटर माथिबाट ठूला ढुङ्गासहितको पहिरो झरेको हो ।

चार किलोमा अहिलेसम्मकै ठूलो पहिरो खसेको खनालले बताउनुभयो । सोही सडकको गाईघाट, जलबिरे, कालिखोला, १७ किलोलगायतका ठाउँमा पनि पहिरो खसेका छन् । ती ठाउँका पहिरो सानो भएकाले छिट्टै सफा गर्न सकिने आयोजनाले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको जनाइएको छ ।

सडक बन्द भएसँगै यात्रु प्रभावित भएका छन् । हरितालिका तीजको आज दरखाने दिन भएकाले माइत जाने, आउने सयौँ महिला सडकमै बिचल्लीमा परेका छन् ।