समाचार

खाद्य सम्प्रभुताको अधिकारमाथि छलफल हुदैँ

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मङ्गलबार पनि ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथिको दफाबार छलफल जारी छ । समितिमा पेश भएको उक्त विधेयकमा ८ परिच्छेद र ४६ धारा छन् । सङ्घीय संसद् प्रतिनिधिसभाले विधेयकमाथि आवश्यक संशोधन र दफाबार छलफलका लागि गत साता समितिमा पठाएको थियो ।

समितिका सभापति सत्यनारायण शर्मा खनालको अध्यक्षतामा बसेको बैठकमा आज सांसदहरू शान्ता चौधरी, छविलाल विश्वकर्मा, दलबहादुर राना, कृष्णप्रसाद दाहाल, चन्द्रकान्त चौधरी, पूर्णकुमारी सुवेदी, भूमिप्रसाद त्रिपाठीलगायतले छलफलमा भाग लिएका थिए ।

दफाबार छलफलमा कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी र सचिव डा युवकध्वज जिशीको पनि उपस्थिति थियो । छलफल सोमबारदेखि जारी छ । विधेयकमाथि किसानको परिभाषा, बाँझो जमीनको उपयोगिता, कृषियोग्य भूमि, खाद्य सम्प्रभुता, खाद्य सुरक्षा, परम्परागत तथा रैथाने खाद्यको संरक्षणलगायतका बिषयमा छलफल जारी छ ।