प्रदेश 1

बाढीपीडित अझै राहतको प्रतीक्षामा

इनरुवा । गत वर्ष साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित बनेका सुनसरी दुहबी नगरपालिका–१० का बासिन्दाले अझै राहत पाउन सकेका छैनन् ।

बाढीबाट प्रभावित बनेका त्यस वडाका १०७ परिवार अहिले पनि राहत रकमको प्रतीक्षामा छन् । सरकारले प्रतिघर रु २५ हजारका दरले राहत दिने घोषणा गरेको थियो । बाढीपीडितका लागि आएको रकम वास्तविक बाढीपीडितलाई नदिई वडाका प्रतिनिधिले गैरबाढीपीडितलाई वितरण गरेको, पार्टीगत, नातावाद, कृपावाद हिसाबले रकम वितरण गरेको बाढी पीडित कैलु उराँवले बताए ।

बाढीपीडितको नाममा आएको रकममा भएको अनियमित भएको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको स्थानीयवासी बिन्दा मोचीले जानकारी दिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले बाढीपीडितको रकममा भएको अनियमितताका विषयमा छानबिन गरिने बताए ।