कर्णाली प्रदेश

रुकुमका स्थानीय तह गर्दैछन् सलामयोग्य काम !

काठमाडौँ । निर्वाचनको समयमा उम्मेदवारले पूरा हुने तथा नहुने विभिन्न आश्वासन बाँड्दै हिँडेको विषयलाई धेरैले नौलो मान्दैनन् । आश्वासनका रूपमा अगाडि सारिएका नारा र विषयमध्ये थोरै मात्रै पूरा हुने गरेको छ ।

स्थानीय तहको निर्वाचनमा धेरैजसो उम्मेदवारले स्मार्ट सिटीको नारा अगाडि सारे । गर्न सकिने र नसकिने नारा दिने उम्मेदवार कोही विजयी भए भने कोही पराजित भए । बझ्दै नबुझी नारा र आश्वासन दिने धेरैजसो उम्मेदवार आगामी निर्वाचनमा देखिएलान् वा नदेखिएलान् त्यसको कुनै निश्चित छैन ।

आश्वासन बाँडेकै भरमा निर्वाचन जितेका जनप्रतिनिधिले आफ्ना प्रतिबद्धता के कति पूरा गरे भन्ने खोजी शुरु भएको छ । स्थानीय तहको गत निर्वाचनमा जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्नेमा रुकुमको आठबिसकोट नगरपालिका देखिएको छ । शिक्षा, स्वास्थ्यमा लगानी गर्ने र आर्थिक समृद्धिको जग बसाउने लक्ष्यका साथ सो नगरपालिकाले अभियान नै चलाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माको संयोजनमा आठबिसकोट नगरपालिकाले स्थानीय दुई विद्यार्थीलाई विमान चालक पढाइका लागि फिलिपिन्स पठाएको छ । रुकुमको आठबिसकोट नगरपालिका–५ का ललित भण्डारी र सोही नगरपालिका–१० का गोविन्द केसी विमान चालक पढाइका लागि सोमबार साँझ फिलिपिन्स उडेका छन् ।

नगरपालिकाले दुई विद्यार्थीका लागि रु ५०÷५० लाख रकम उपलब्ध गराएको छ । शैक्षिक कर्जा भने उनीहरूले विस्तारै तिर्ने गरी व्यवस्था मिलाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढ्ने प्रतीक्षामा रहेका बेला रासससँग कुरा गर्दै भण्डारीले आफ्नो पाइलट बन्ने सपना पूरा गर्न नेकपाका नेता जनार्दन शर्मा र नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले खेलेको भूमिकाको उच्च प्रसंशा गरे ।

“सानैदेखिको पाइलट बन्ने रुचि थियो, विदेश गएर पढ्नुपर्ने विमान चालक पढाइको पाड्यक्रमका लागि पैसा थिएन । तर नगरपालिकाले विश्वास गरेर हामीलाई पैसा दियो”, भण्डारीले भने, “सामाजवादको आधार तयार पार्ने र गाउँमै दक्ष जनशक्ति उत्पादन गर्ने भनेर निर्वाचनका क्रममा नेता शर्माले व्यक्त गर्नुभएको प्रतिबद्धता पूरा गर्नुभएको छ ।”

विमान चालक पढाइका लागि अध्ययन गर्न जानुभएका अर्का विद्यार्थी केसीले पनि निर्वाचनमा राजनीतिक नेतृत्वले प्रतिवद्धता मात्रै जनाउँदैनन् त्यसलाई पूरा गर्छन् भन्ने कुरा व्यवहारिक रुपमा पुष्टि भएको बताए । “जुन विश्वासका साथ हामीलाई राजनीतिक नेतृत्वले लगानी गरेको छ, त्यसलाई म दृढताका साथ पूरा गर्नेछु । आर्थिक रूपमा विपन्न परिवारको चाहना पूरा भएको छ”, केसीले भने।

उहाँहरू मात्र होइन, नगरपालिकाले चिकित्सक, इञ्जिनीयर पढ्न चाहने विद्यार्थीका लागि समेत आवेदन माग गरेको छ । नगरपालिकाले यसअघि पाँच जनालाई नर्स र ओभरसियर अध्ययनको व्यवस्था मिलाइसकेको छ । दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने भनेर निर्वाचनका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै शैक्षिक कर्जा दिन थालिएको नगर प्रमुख गोरखबहादुर केसी बताउछन् ।

शैक्षिक कर्जा लिनका लागि आवश्यक धितो र त्यसका लागि आवश्यक शैक्षिक योग्यता भएको कागजात पेश गर्नुपर्ने नियम बनाइएको छ । आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाबाट शैक्षिक कर्जा लिने व्यवस्था नगरपालिकाले गरिदिएको छ । सहकारीबाट लिइएको ऋणको ब्याज नगरपालिकाले तिर्ने व्यवस्था गरिएको छ ।

रुकुमको स्थायी बासिन्दा रहेका नेकपाका नेता शर्माले दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफूहरूले योग्य विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाएको बताउछन् । आर्थिक समृद्धिका लागि दक्ष जनशक्ति जरुरी रहेको भन्दै उहाँले रुकुममा हरेक स्थानीय तहले स्वास्थ्य र शिक्षामा लगानी गरेको र त्यसको प्रतिफल आगामी केही वर्षदेखि देखिने बताए ।

स्थानीय तहले शैक्षिक कर्जा लिएर अध्ययन गरेका विद्यार्थीले रोजगारी पाएपछि मात्रै कर्जाको सावाँ र ब्याज तिर्ने व्यवस्था मिलाएको छ । नेता शर्माले भने, “हामीले निर्वाचनका क्रममा जनतासामु गरेको प्रतिबद्धतालाई व्यावहारिक रूपमा नै कार्यान्वयन थालेका छौँ । यसलाई अरु जिल्लाले समेत अनुशरण गर्न सक्छन् ।”

पछिल्लो व्यवस्थाअनुसार पश्चिम रुकुमको रूपमा परिचित सो जिल्लामा तीन नगरपालिका र तीन गाउँपालिका रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा ९माओवादी केन्द्र०ले एकलौटी रूपमा सो जिल्लाको सबै स्थानीय तहमा विजय हासिल गरेको थियो ।

विमान चालक तथा चिकित्सक अध्ययन गर्न चाहने योग्य विद्यार्थीलाई नगरपालिकाको सिफारिशमा सहकारीले रु ५० लाखसम्म ऋण दिने व्यवस्था गरिएको छ । राज्यले विगतमा शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेको भए पनि ग्रामीण क्षेत्रका विद्यार्थीले त्यसबाट फाइदा लिन सकेका थिएनन् । नगरपालिकाका प्रमुख केसीले दक्ष जनशक्ति उत्पादन गर्ने र स्थानीय तहबाटै आर्थिक समृद्धिसहितको समाजवादको यात्रा तय गर्ने लक्ष्यका साथ शिक्षा र स्वास्थ्यमा लगानी बढाइएको बताए ।

स्रोतको अभावमा क्षमता भएका विद्यार्थीले समेत प्राविधिक विषयमा अध्ययन गर्न नपाएकाले खाडी मुलुकमा रोजगारीको खोजीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको नगरपालिकको भनाइ छ । प्रमुख केसी स्वदेश वा विदेश जहाँ भए पनि एक÷एक जनालाई त्यस्तो सुविधा वार्षिक रूपमा उपलब्ध गराउने बताउछन् ।

नेकपाका नेता शर्माले नारा र भाषणको भरमा मात्रै समृद्धिको यात्रा तय हुन नसक्ने भएकाले व्यावहारिक रूपमा नै प्रयास गरिएको राससलाई जानकारी दिए । विमान चालक पढाइका लागि गएका केसी र भण्डारीले पनि स्थानीय सरकार र राजनीतिक नेतृत्वले गरेको विश्वासलाई साकार बनाउने र जिल्लाको नाम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

जहाज चढ्न हतारमा रहनुभएका भण्डारीले त आर्थिक पहुँचभन्दा बाहिर रहेको विमान चालकसम्बन्धी अध्ययन गर्ने सपना पूरा भएकामा पटक–पटक नेता शर्मा र नगरप्रमुख केसीलाई धन्यवाद दिए ।

रुकुमको स्थानीय तहले शुरु गरेको यस्ता सकारात्मक प्रयासलाई अन्य जिल्लाका स्थानीय तहले पनि अनुशरण गर्न सक्ने र आफूहरू जस्तै प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेलाई सहयोग गर्न आग्रह गर्नुहुन्छ विद्यार्थी केसी । त्रिचन्द्र कलेजबाट बिएस्सी गरेका केसी र भण्डारीले फिलिपिन्सबाट अध्ययन सकेर देश र जिल्लाको सेवा गर्ने प्रतिबद्धता मात्रै व्यक्त गर्नुभएन अरु जिल्लालाई पनि यस्तो अभियान शुरु गर्न अनुरोध गरे ।