आर्थिक

शेयरधनिहरुका लागि खुसीको खबर

काठमाडौँ । धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि आज भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १३।०६ अंकले वृद्धि भई एक हजार २३० बिन्दुमा पुगेको छ ।

बजारमा दोहोरो अंकको वृद्धि भई कारोवार रकममा समेत वृद्धि भएको छ । मंगलबार एक हजार २१७ बिन्दुमा रहेको शेयर आज १३.०६ अंकको वृद्धि सँगै अर्को उचाइमा पुगेको हो । कूल १६५ कम्पनीको रु ४३ करोड २९ लाख ५७ हजार ६८ मूल्यबराबरको शेयर किनबेच भएको थियो । स्टकका अनुसार आज होटल १.४१, फाइनान्स र उत्पादन समूह क्रमशः २.२३ र २.६८ बिन्दुले घटे पनि अरु उपसमूहको शेयर भने वृद्धि भएको छ ।

स्टकका अनुसार बैंकिङ १३.९८, विकास बैंक १४.८४, जलविद्युत् ४.८१, निर्जीवन बीमा ११३.५२, अन्य ७.१९, माइक्रोफाइनान्स १५.८८ र निर्जीवन बीमा समूह ३.९८ बिन्दुले बढेका छन् । कारोवारका आधारमा यस दिन एनआइसी एशिया बैंकको शेयर कारोवार आज अग्रस्थानमा छ । सो बैंकको रु चार करोड ८९ लाखको कारोवार हुँदा मूल्य प्रतिकित्ता शेयर मूल्य रु ४०७ कायम हुन पुगेको छ ।

ग्लोबल आइएमई बैंकको रु तीन करोड ६९ लाखबराबरको शेयर कारोवार भएको छ । रिडी हाइड्रोपावर कम्पनी र मल्टी पर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.२ प्रतिशतले बढेको स्टकले जनाएको छ । बजार उच्च बिन्दुले बढ्दासमेत आइसिएफसी फाइनान्सका शेयर लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ५.७ प्रतिशत गुमाएका छन् ।