प्रदेश 1

पूर्वी पहाडी जिल्लामा विद्युत् अवरुद्ध

पशुपतिनगर । केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो ।

इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेको थियो । यस्तै दमक नगरपालिकास्थित पाडाजुँडी–राजदूवाली १३२ केभी प्रसारण लाइनमा पनि समस्या आएपछि पूर्वी पहाडी क्षेत्रका तीन जिल्ला २४ घण्टादेखि अन्धकारमा छन् ।

विद्युत् अवरुद्ध भएपछि पूर्वी पहाडका ४० हजार भन्द बढी उपभोक्ताका साथै सयौँ उद्योग कलकारखाना ठप्प छन् । विद्युत् प्राधिकरणले १३२ केभी काबेली करिडोरबाट विद्युत् प्रवाह गरे पनि त्यो लाइनमा पनि हावाहुरीका कारण समस्या आएको नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले बताए।

उनका अनुसार बिर्तामोड–ताप्लेजुङ ३३ केभी विद्युत् प्रसारण लाइन सञ्चालनका लागि काम भइरहे पनि पहिरो गएको क्षेत्रमा पोल ठड्याउन समस्या भएकाले आज बेलुकीसम्ममा काम सक्ने योजना छ ।

यस्तै अर्को विद्युत् प्रसारण लाइन काबेली करिडोरमा आएको समस्या अझै सुल्झन सकेको छैन । एकसय बत्तीस केभी काबेली प्रसारण लाइन सञ्चालनका लागि विद्युत् प्राधिकरणका प्राविधिक बिहानैदेखि खटिएका छन् ।