कृषि

किसान माछापालनतर्फ आकर्षित

पर्वत । यहाँका किसान माछापालनतर्फ आकर्षित भएका छन् । पर्याप्त आम्दानी लिन सकिने भएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिना र बागलुङको धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक यामप्रसाद शर्माले माछा बिक्रीबाट एउटै याममा रु ६० लाख आम्दानी गरेका छन् । उनीहरुले सञ्चालन गरेको फार्ममा उत्पादित माछा पोखरा तथा काठमाडौँसम्म बिक्री हुने गरेको छ । सो फार्मको कारोवार बढेपछि अन्य किसानसमेत माछापालनतर्फ आकर्षित भएका छन् ।

ट्राउट माछा खरिद गर्न व्यापारी मोदी गाउँपालिका–२ देउपुरको पातीखोलास्थित ‘रेन्बो ट्राउट माछा फार्म’मै पुग्छन् । सो फार्मले एउटै याममा ६ टन माछा बिक्री गरेको छ । ट्राउट माछाको माग अत्यधिक छ । ट्राउट माछा प्रतिकिलो रु एक हजारदेखि रु एक हजार २०० सम्ममा बिक्री भइरहेको छ । शर्माले पाँच वर्षदेखि सो फार्म सञ्चालन गर्दै आएका छन् । दुई वर्षअघि बाढीले माछापोखरी बगाएपछि संरचना पुनःनिर्मण गरिएको हो ।

शर्मा र तिमिल्सिनाले उक्त फार्मबाट पहिलो वर्ष रु पाँच लाख आम्दानी गरे । फार्मसम्म सडक सुविधा नहुँदा पोखरीको माछा बिक्रीका लागि बजारसम्म पु¥याउन समस्या हुने गरेको छ । पातीखोला नजीकैको अम्बोटमा स्थानीयवासी लालबहादुर हरिजनले ६ वर्षदेखि नमूना व्यावसायिक फार्म सञ्चालन गरेका छन् । पोखराबाट माछाको माग अत्यधिक आउने गरेको छ । गत साता ६ क्विन्टल माछा पोखरा लगेर बिक्री गरेको उनले बताए ।