प्रदेश 1

झापा गापा खुल्ला दिसा मुक्त घोषणा हुने मिति तोकियो

झापा । झापा गाउँपालिकालाई यही असोज २ गते खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय भएको छ । गाउँपालिकामा बिहीबार भएको बैठकले सो निर्णय गरेको हो । झापा गाउँपालिकामा रहेका साविकका ३ वटै गाउँ विकास समितिहरुलाई जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अन्तिम गुणस्तर अनुगमन गरिसकेको छ ।

घोषणा समारोहलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरिएको छ । घोषणा समारोहको अघिल्लो दिन असोज १ गते विद्यालय, कार्यालय, बजार तथा सार्वजनिक स्थल सरसफाइ गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा साविक शरणाामतीमा सहारा नेपाल र साविक कुमरखोद तथा टाघनडुब्बामा सगरमाथा सामुदायिक विकास केन्द्रले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेका थिए । ७ हजार २ सय २९ घरधुरी रहेको झापा गाउँपालिकामा खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्नुअघि ३ हजार ४ सय ४६ घरधुरीमा सुरक्षित चर्पीको पहुँच रहेको थियो भने ३ हजार ७ सय ८३ घरधुरीमा अभियानका क्रममा नयाँ सुरक्षित चर्पी बनाइएको हो ।

झापा गाउँपालिकामा चर्पी निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी, अभियान नेपाल र एस.एन.जे.डी. लगायतका संस्थाहरुले विपत् उत्थानशील कार्यक्रम एवम् पुनर्लाभ कार्यक्रमअन्तर्गत सहयोग गरेका थिए ।

झापा गाउँपालिका खुल्ला दिसामुक्त घोषणा हुने झापा जिल्लाको नवौं स्थानीय तह हुनेछ । दमक, गौरादह र कचनकवल अन्तिम गुणस्तर अनुगमनको पर्खाइमा रहेका छन् ।

नेपालको पूर्वी प्रवेशद्वारको रुपमा रहेको मेचीनगर, झापा जिल्लाको सदरमुकाम समेत रहेको नेपालकै पुरानो नगरपालिका भद्रपुर र अघिल्लो वर्ष नै खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी गरेको हल्दिबारीमा भने अझै पनि चर्पी निर्माण हुन बाँकी नै रहेको छ ।