प्रवास

रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेल नियुक्त

काठमाडौँ । रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेललाई नियुक्त गरेको छ । नेपाल सरकारले नवराज पोखरेललाई रोमानियामा ब्यापार, ब्यवसाय, पर्यटन, अध्ययन तथा भ्रमण लगायतका अन्य बिभिन्न उद्देश्यबाट बसोबास गर्दै आएका नेपालीहरुको हकहित संरक्षण गर्न र उनीहरुलाई कानूनी एवम् ब्यापारिक बिषयहरुमा सहयोग प्रदान गर्न बुखारेष्ट शहरलाई कार्य क्षेत्र बनाई अवैतनिक बाणिज्यदूतको पदमा नियुक्त गरेको हो ।

नेपाल सरकारको तर्फबाट सो पदको नियुक्ति पत्र, नेपाली झण्डा र अन्य सबै आधिकारिक कागजात जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले बर्लिन स्थित नेपाली राजदूताबासमा शुक्रबार हस्तान्तरण गर्नुभएको थियो। नव नियुक्त पोखरेलले अवैतनिक वाणिज्यदूतमा नियुक्त भएसँगै सरकारले आफूलाई प्रदान गरेको यो अवसर प्रति आभार प्रकट गरेका छन्।

सन २००९ देखी नै रोमानियामा अवैतनिक वाणिज्यदूतको आवश्यकता देखी सिफारिस गर्ने रसियाका तत्कालिन नेपाली राजदूत सूर्य किरण गुरुङ, यसको पहल गर्ने राजदूतहरु डा। रबि मोहन सापकोटा, मोहन कृष्ण श्रेष्ठ, ऋषिराम घिमिरे र गैरआवासीय नेपाली संघका तर्फबाट संरक्षक राम प्रताप थापा, आईसीसीका पूर्व अध्यक्ष देवमान हिराचन प्रति पोखरेलले आभार प्रकट सहित धन्यबाद ज्ञापन गरेका छन्।

खोटाङ जिल्लाको सावा कटहरेमा २०१९ सालको चैत मसान्तमा जन्मेका पोखरेलले खोटाङ, भोजपुर र झापाबाट आफ्नो माध्यमिक स्तरको शिक्षा हासिल गरेका थिए भने उच्च शिक्षा शुरुवात त्रि-चन्द्र र अमृत साइन्स क्याम्पस काठमाडौंबाट गरे।

सन् १९८६ सालमा उनलाई रोमानियाको बुखारेष्ट युनिभर्सिटीबाट पत्रकारिता बिषयमा छात्रवृत्ति प्राप्त भएको थियो। तत्कालिन युनिभर्सिटी टप गरेका पोखरेलले केही समय पछि वातावरण संरक्षणमा स्नातकोत्तर पनि गरेका छन्।