सुदूरपश्चिम

चेतना, सोच र कार्यशैलीमा परिवर्तन आउन जरुरीः मुख्यमन्त्री भट्ट

कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विकासको गतिलाई अगाडि बढाउन चेतना, सोच र कार्यशैलीमा परिवर्तन आउन जरुरी रहेको बताएका छन् । योङ इनोभेसन संस्था र धनगढी उपमहानगरपालिकाको संयुक्त प्रयासमा शुरु हुन लागेको पूर्वाधार व्यवस्थापन प्रणालीको आज धनगढीमा उद्घाटन गर्दै उनले भने, “विकासको गतिलाई अगाडि बढाउने हो भने चेतना, सोच र कार्यशैलीमा परिवर्तन ल्याउन जरुरी छ ।”

मुख्यमन्त्री भट्टले प्राथमिकताका आधारमा योजनाको छनौट गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नुपबहादुर वडले पूर्वाधार व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट नगरको सुशासनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

योङ इनोभेसन संस्थाका सिइयो विभूषण विष्टले यस कार्यक्रमबाट नगरवासीले आ–आफ्नो घरमा बसीबसी घर वरपरको पूर्वाधार निर्माणको स्थितिका बारेमा जानकारी लिन सकिने बताए ।

मोबाइलमा पूर्वाधार व्यवस्थापन प्रणाली सम्बन्धी एप्स डाउनलोड गरी उपमहानगरपालिकाले काम कारवाहीका बारेमा नगरवासीले जानकारी प्राप्त गर्न सकिनेछ ।