गण्डकी प्रदेश

थकाली समुदायको फालो पर्व शुरु

कोवाङ मुस्ताङ । थाक सात सय अन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलिक पर्व कुमारयात्रा (फालो) शनिबारदेखि शुरु भएको छ । थकाली समुदायको उद्गमस्थल थासाङ गाउँपालिका– २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्लपक्ष अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ ।

थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले परम्परा, संस्कार, कला र संस्कृतिको संरक्षणमा सम्बन्धित समुदाय अग्रसर बन्नुपर्ने बताए । गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली समुदायका पाँचदेखि १३ वर्ष मुनिका छेवार गरिसकेका कुमारलाई कुमारयात्रामा सहभागी गराउने चलन रहेको थकाली सेवा समितिका अध्यक्ष कृष्णकुमारी शेरचनले बताए ।

उनकाअनुसार चार चनमा जन्मिएका छोरा कुमारयात्रा (स्योपेन) मा सहभागी भएपछि भगवान नरिच्हेबको आर्शिवादले जीवनका लागि सक्षम र योग्य भएको सांस्कृतिक मान्यता पाउँछन् ।

परापूर्वकालमा जङ्गलमा शिकार खेल्न गएका थकाली समुदायका युवाले मृगलाई मार्न खोज्दा नरिच्योहब देवता प्रकट भई नर्साङ भन्ने ठाउँमा लैजाने अनुरोध गरेको भनाइ छ । सो स्थानमा गुम्बा बनाइ राखे पश्चात गाउँमा अनिष्ट नहोस् भनेर पूजाआजा गर्ने र थकाली पुरुषले चुडा कर्म गरेपछि १३ वर्ष नपुग्दै अनिवार्य कुमारयात्रामा सहभागी हुने चलनको शुरुवात भएको प्रमुख मुखिया भीमप्रसाद गौचनले बताए ।

स्योपेनमा सहभागी कुमारले टुकुचेको चोकोपानीमा स्नान गरेर नर्साङ गुम्बामा नरिच्योहेब देवताको पूजाआजा गर्ने, आफन्तजनबाट आर्शिवाद लिने, देवताको पूजाआजा गर्ने र थकाली भाषामा गीत गाउँदै बाजागाजासहित गाउँ परिक्रमा गरेर लार्जुङमा पुगेपछि घोडा चढेर राक्षसको चित्रलाई तिर हान्ने चलन छ ।

कुमारयात्रामा सहभागी हुन देश, विदेशबाट थकाली कुमार कोवाङमा आएका छन् । थकाली भाषामा गीत गाएर परम्परागत पहिरनमा सजिएर नाचगानका साथै लामाहरुले कोतघरमा पूजाआजा गर्छन् । फालो पर्व सञ्चालन गर्न थकाली सेवा समितिले रु २५ लाखको अक्षयकोष स्थापना गरेको छ । कोषबाट यस वर्ष पर्वमा बाजा बजाउने कलाकारलाई रु तीस हजार बराबरको पोशाक सहयोग गरेको छ । परम्परागत सांस्कृतिलाई निरन्तरता दिनका लागि अक्षयकोषको ब्याजबाट फालो पर्व सञ्चालन गर्न सहयोग गर्ने व्यवस्था मिलाइएको अध्यक्ष शेरचनले बताए ।