बाग्मती

माडीमा जङ्गली हात्तीको त्रास

चितवन । पर्सा निकुञ्जबाट जङ्गली हात्तीको हुल माडी क्षेत्रमा आएपछि स्थानीय त्रसित भएका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले १५ दिनअघिबाट माडी क्षेत्रमा पसेको हात्तीको बथानले स्थानीय त्रसित भएको बताए ।

उनका अनुसार गए राति पनि माडी नगरपालिका–७ गौरीनगरमा हात्तीको बथान पसेर धान खेती नष्ट गरेको छ । हात्ती रातको समयमा बस्ती पस्ने र दिनभर वन क्षेत्रमा बस्ने गर्दछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार हवाइ फायर, ट्र्याक्टरको आवाज र राँको बाल्ने, शङ्ख फुक्ने र होहल्ला गरेर हात्ती लखेट्ने काम भइरहेको छ । स्थानीयलाई सुरक्षाकर्मीले हात्ती लखेट्न सहयोग गरिरहेको बताइएको छ । मानवीय क्षति हुन नदिन उच्च सावधानी अपनाउन सबैमा अपिल गरिएको ढकालले बताए । हात्तीको बथान बगइ हुँदै अन्य क्षेत्रमा पसेको हो । त्यस क्षेत्रमा १५/१६ हात्तीको बथान आएको बताइएको छ ।

जसबाट दुई हात्ती छुट्टिएर सुखीभार क्षेत्रमा पुगेको ढकालले बताए । हरेक वर्ष धान पसाउने समयमा जङ्गली हात्ती बस्ती पस्छ । धानसँगै घरमा भण्डारण गरिएको खाद्यान्न खाइदिने, घर भत्काउने, मानिसलाई आक्रमण गर्ने गर्दछ । हात्ती आएपछि स्थानीयवासीले रातमा सुत्न पाउँदैनन् । धान पाक्ने समयसम्म हात्तीले दुःख दिने गर्दछ ।