बाग्मती

‘संविधानले मानवाधिकार र प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको छ’

हेटौंँडा । प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको संविधानले मानवअधिकारको प्रत्याभूति गर्न, प्रेस स्वतन्त्रताको साथै राजनीतिक दल खोल्न पाउने अधिकारको सुनिश्चित गरेको बताए ।

संविधान दिवसको उपलक्ष्यमा प्रदेश नं ३ प्रदेशस्तरको संविधान दिवस मूल समारोह समितिद्वारा हेटौँंडामा आज आयोजित समारोहमा उनले प्रदेश सरकारले संसदीय प्रजातन्त्रको सुढृढीकरण गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन क्रियाशील रहने बताए ।

उनले जनताको जीवनशैली र व्यवहारमा सुधार गरी उनीहरुलाई समाज उत्थानको साथै विकासको पूर्वाधार निर्माणमा आत्मनिर्भर तुल्याउन प्रदेशका लागि आवश्यक ऐन कानून तर्जुमा गर्ने र केही ऐन प्रमाणीकरण गरिसकिएको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले जनतासँग प्रत्यक्ष सरोकार भएका विकाससँग सम्बन्धित कार्यालयबाट जनतालाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको उल्लेख गरे ।

सो अवसरमा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकटेलले तराईका राजनीतिक दलले संविधानको मर्मलाई आत्मसात गरी जनताको मौलिक हकको सम्बद्र्धन गर्न र उनीहरुलाई आर्थिक समृद्धि क्रियाशील गराउन एकजुट हुनुपर्ने विश्वास व्यक्त गरे ।

समारोहमा मुख्यमन्त्री पौडेलले जन आन्दोलनको क्रममा शहीद हुनुभएका वासुदेव घिमिरेका मातापिता र शहीद रुद्र पाख्रिनका धर्मपत्नी राममाया पाख्रिनलाई नगद रु पाँच हजारसहित दोसल्ला ओढाई सम्मान गरे ।

संविधान दिवस समारोह समितिद्वारा आज बिहान हेटौँंडास्थित भुटनदेवी उच्च माविको प्राङ्गणबाट निस्केको झाँकीसहितको ¥याली हेटौँंडा बजारलगायत चौकीटोल हुँदै स्थानीय मकवानपुर क्याम्पसको प्राङ्गणमा पुगेपछि कार्यक्रममा परिणत भएको थियो ।

¥यालीमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, मन्त्री, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका प्रमुख सचिव आनन्दराज ढकाल, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना, प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

यातायात सञ्चालनमा समस्या

यातायात व्यवसायी र चालकको हडतालका कारण मकवानपुर जिल्लामा सवारीसाधन आज बिहानैदेखि सञ्चालनमा आउन सकेका छैनन् । सरकारले सवारी दुर्घटनासम्बन्धी ल्याएको कानूनको विरोध गर्दै उनीहरुले गरेको हडतालका कारण हेटौँडा, पथलैया, अमलेखगञ्जलगायतका मकवानपुर जिल्लाका मुख्य सडकमा लामो तथा छोटा दूरीका सार्वजनिक भाडाका सवारीसाधान गुड्न सकेका छैनन् ।

सवारीसाधन चल्न नसक्दा लामो तथा छोटो दूरीका यात्रुबीच बाटोमै अलपत्र परेका छन् । स्थानीय प्रशासनले सवारीसाधन सञ्चालनका लागि ठाउँठाउँमा प्रयास गरिरहेको छ । उता, माइक्रो, टेम्पो, सिटीसफारीलगायतका सवारीसाधन भने सञ्चालन रहेका छन् ।