प्रदेश 1

चार लेनको सडक बन्दै

भद्रपुर । झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर लामो सो सडकलाई कालोपत्र गर्दै स्तरोन्नति गर्ने काम शुरु भएको हो ।

रु २७ करोडको लागतमा उक्त सडकको स्तरोन्नति २०७६ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी आशिष प्रेरा जेभीका सञ्चालक राजकिशोर गुप्ताले ठेक्का लिनुभएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनीयर माधव पौडेलले जानकारी दिए । अस्तव्यस्त हुँदै गएको विर्तामोडदेखि सदरमुकाम भद्रपुर जोड्ने मुख्य मार्गको स्तरोन्नतिको काम शुरु भएसँगै अब विकासका कामले गति लिन थालेको विर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटीले बताए ।

विर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत २ दशमलव ८ किलोमिटर सडक चार लेनको बनाइने र बाँकीलाई दुई लेनअन्तर्गत फराकिलो बनाइने इञ्जिनीयर पौडेल बताउँछन् । ठेकेदार गुप्ताले तोकिएको समयमा काम सम्पन्न गर्ने बताए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडदेखि सदरमुकाम भद्रपुरसम्मको सडकखण्ड भत्किएको वर्षौं बिते पनि बन्न सकेको छैन । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा तीन वर्ष अघि नै उक्त सडक निर्माणको ठेक्का सम्झौता गरिएको थियो । ठेकेदार कम्पनी ‘थोदुङ–लोहनी–सिंह एण्ड ब्रदर्श जेभी’ले सम्झौताबमोजिम काम नगरेपछि सडक निर्माण ओझेलमा परेको थियो ।