लुम्बिनी

राप्ती लोकमार्ग दुईतर्फी बनाइँदै

लमही । राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम शुरु भएको छ । रुकुम, सल्यान, रोल्पा, दाङलगायतबाट नेपालगञ्ज, बुटवल, काठमाडौँ जानलाई त्यही सडक प्रयोग हुने भएपनि सडक साँघुरो हुँदा आवतजावतमा समस्या हुने गरेको छ ।

पछिल्लो समय भित्रिएका ठूला गाडी आवतजावतमा समस्या भएकाले सडकलाई दुईतर्फी बनाउन लागिएको डिभिजन सडक कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले बताए । सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै चारतर्फी बनाउन लागिएको उनले बताए ।

दैनिक एक सयभन्दा बढी ठूला सवारी आवातजावत हुने गरेको उक्त सडक खण्ड दुईतर्फी बनाउन शुरु भएसँगै केही समय सवारी आवागनमा समेत बन्द गरिएको छ । सूचना अधिकारी गौतमका अनुसार मङ्गलबार बिहान ७ बजेदेखि ११ बजे, मध्यान्ह १२ बजेदेखि ४ र बेलुका ६ देखि ९ बजेसम्म सवारी आवतजावतमा रोक लगाइएको छ ।

अमिलिया–तुलसीपुर सडकखण्डको दुई किलोमिटर उत्तरदेखि सात किलोमिटरसम्म दुईतर्फी सवारी चल्ने छ । केएस कन्ट्रक्सनले २०७६ पुस मसान्तसम्म पूरा गर्ने गरी दुईतर्फी सडक बनाउन रु १३ करोड बजेट विनियोजन गरिएको सूचना अधिकारी गौतमले बताए ।