अब दुधको दुध अनि पानीको पानी हुनुपर्छ ।
बलात्कारी लाई फाँसी छानीछानी हुनुपर्छ ।।
चार अरब घोटाला भयो अरे वाइड बोडी किन्दा ।
तपाईको विचारमा कस्को मनोमानी हुनुपर्छ ।।
देशलाई समृद्धिको पथमा अग्रसर गराउनु छ भने ।
सर्वप्रथम त भ्रष्टाचार मुक्त राजधानी हुनुपर्छ ।।
सधैं कुकुर बिरालो झैं झगडा गर्छन् छिमेकी ।
उनीहरु पक्कै पनि देउरानी जेठानी हुनुपर्छ ।।
झाङ्गिएर पूरा मुलुककाई ढाक्नुभन्दा पहिला ।
अब भ्रष्टाचार को जरैबाट फँडानी हुनुपर्छ ।।
देशकै माटोमा पसिना बगाउन तैयार छौँ युवाहरू ।
पहिला सरकारबाट उचित लगानी हुनुपर्छ ।।
उ सडकमा एक तस्बिर लिएर घुम्छ पागल झैँ ।
पक्कै उस्को मेरो उस्ता –उस्तै कहानी हुनुपर्छ ।।
आमा रुनुहुन्छ स्वर्गीय बाबा र साहुको ऋण सम्झी ।
मलाई लाग्छ मेरो हातमा अब राहदानी हुनुपर्छ ।।
धोकेबाज लाई सुन्दरताको धेरैनै घमण्ड थियो ।
तर कहिल्यै सोचिनन् त्यो मुहार खरानी हुनुपर्छ ।।
गरीबसँग जथाभावी कर असुली गर्नु भन्दा बरु ।
संसदहरुले पाउने भत्ता कटानी हुनुपर्छ ।।
तपाईं एक असल अग्रज हुनुहुन्छ भने सुन्नुहोस् ।
सबैलाई एकै दृष्टिकोण हेर्ने बानी हुनुपर्छ ।।
उनी मेरी प्रेमीका हुन उस्को श्रीमती भन्दा पहिला ।
उन्को हातमा हेर्नू आर लेखेको निशानी हुनुपर्छ ।।
साहित्य प्रेमी राजन ज्ञवाली
✍️राजन ज्ञवाली