राजनीति

दाङका सबै तहमा पार्टी एकताको काम सकियो

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङका १० वटै स्थानीय तहका कमिटीलाई शपथ खुवाएको छ । बिहीबार तुलसीपुर र घोराहीका पदाधिकारी एवं सदस्यलाई शपथ खुवाएसँगै जिल्लाका सबै तहमा पार्टी एकताको काम सकिएको हो । नेकपा जिल्ला कार्यदलका सदस्य टीकाराम खड्काका अनुसार बिहीबार घोराही र तुलसीपुर उपमहानगरका पदाधिकारी एवं सदस्यलाई बेग्लाबेग्लै कार्यक्रम गरेर शपथ खुवाएपछि जिल्लाको पार्टी एकताको काम पूर्णरूपमा सकिएको हो ।

तुलसीपुर र घोराहीमा बिहीबार नेकपा प्रदेश नं ५ का संयोजक शङ्कर पोखरेलले शपथ खुवाएका थिए। शपथग्रहण कार्यक्रममा प्रदेश संयोजक पोखरेलले यतिबेला कार्यकर्ता मिलाउने काम भइरहेको र वैशाख १० भित्रै जिल्लाका अरु भातृ सङ्गठनलाई पनि मिलाउने तयारी भइरहेको बताए। जिल्लाका सबै पालिकामा अध्यक्ष र सचिवसहित १०१ सदस्यको कमिटी बनाइएको छ । जहाँ ५३ पूर्वएमाले र ४८ पूर्वमाओवादी केन्द्रबाट प्रतिनिधित्व हुने गरी कमिटी बनाइएको छ ।

नेकपा जिल्ला कार्यदलका संयोजक शिवकुमार आचार्यले सबै पालिकाको पार्टी एकता सकिएसँगै पालिकास्तरका कमिटी अब नियमित पार्टीको काममा खट्ने जानकारी दिए । उनले पालिकास्तरका वडा कमिटी गठन गर्ने, अन्य सङ्गठन निर्माण गर्ने र पार्टीको सङ्गठन विस्तारमा लाग्ने बताए । अहिले जिल्लाका सबै स्थानीय तहमा नेकपाको सरकार रहेको हुँदा स्थानीय सरकारलाई टेवा पुग्ने काममा पनि पार्टीले ध्यान दिने उनको भनाइ छ ।