चौतारा । नेपाल र चीनको सिमानामा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ तातोपानीस्थित लिपिङ खोलामा निजी क्षेत्रबाट जलविद्युत् आयोजनाको निर्माण गरिने भएको छ ।
हिमशिखर प्रालिद्वारा रु तीन अर्ब २६ करोडको लगानीमा १६.२६ मेगावाट क्षमताको जलविद्युत् आयोजना २०७९ सालमा सम्पन्न हुने गरी निर्माण हुन लागेको प्रवर्धक रामकाजी पौडेलले जानकारी दिए।
आगामी दशैँपछि निर्माण कार्य शुरु गरिने उक्त आयोजनाका लागि एनएमबी बैंकसँग ऋृण सम्झौता भएको छ । लिपिङस्थित अरनिको राजमार्गबाट माथि रहेको स्थानमा विद्युत्गृह निर्माण गरिने र त्यहाँबाट दुई हजार ६०० मिटरमाथि बाँध निर्माण गरिने हुँदा आयोजना स्थलसम्म सामान ढुवानी गर्न सडकदेखि २५० मिटर रोप वे ९रज्जु मार्ग० को निर्माण भइरहेको छ ।
बाँध स्थलदेखि विद्युत्गृहसम्म एक हजार ४०० मिटर सुरुङ मार्ग र एक हजार २०० मिटर पेनस्टक पाइपमार्फत पानी खसालिने छ । निर्माणको चरणमा आयोजनामा आवश्यक पर्ने ऊर्जाका लागि ६०० किलोवाट क्षमताको लागि माइक्रो हाइड्रोकोसमेत निर्माण कार्य सम्पन्न भइसकेको छ । उक्त आयोजना गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्ने हुँदा संरक्षण क्षेत्र र वन तथा वातावरण मन्त्रालयबाट समेत स्वीकृती प्राप्त भवसकेको प्रवर्धक पौडेलले जानकारी दिए ।
उत्पादित विद्युत् सुक्खायाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा कायम गरी विद्युत् खरीद बिक्रीसमेत सम्पन्न भइसकेको छ । त्यहाँ उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणलाइनमा जोड्न शिवश्री हाइड्रो पावरको साझेदारीमा आयोजना स्थलदेखि लामोसाँघुसम्मको ३६ किलोमिटर १३२ के भि ए प्रसारण लाइन मध्ये २२ किलोमिटर प्रसारण लाइनको कामसमेत सम्पन्न भएको आयोजनाले जनाएको छ ।





