आर्थिक

गाउँपालिकाद्वारा वडाबाटै योजना सम्झौता

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले वडास्तरमै पुगेर योजना सम्झौता गरेको छ । चालू आर्थिक वर्ष २०७६र७७ को नीति, कार्यक्रम तथा बजेटबमोजिम चालू आवमा सञ्चालन हुने विभिन्न योजना वडास्तरमै पुगेर सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीयवासीलाई घरदैलोबाटै सेवा दिने उद्देश्यका साथ वडामा पुगेर योजना सम्झौताको अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिएका छन् । अध्यक्ष थापाका अनुसार गाउँपालिकाका छ वटै वडामा पुगेर २५० भन्दा बढी योजनाको सम्झौता सम्पन्न गरिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा ३०० योजना सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

योजना सम्झौता गर्नका लागि उपभोक्तालाई गाउँपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न वडामा पुगेर योजना सम्झौताको अभियान सञ्चालन गरिएको थापाले जानकारी दिएका छन् । “योजना सम्झौताका लागि गाउँपालिकामा आउनुपर्दा जनताले दुःख पाए”, थापाले भने, “वडामै पुगेर योजना सम्झौता गरिदिँदा जनतालाई सहज भयो ।

योजना सम्झौता गर्न गाउँपालिका आउँदा स्थानीयवासीले पूरा कागजात नल्याउने समस्या रहँदा दुई÷तीन पटकसम्म एउटै कामका लागि गाउँपालिका धाउनुपर्ने बाध्यता थियो । वडामै पुगेर योजना सम्झौता गर्नुपूर्व गाउँपालिकाका प्राविधिकले योजनाको लागत स्टिमेट तयार पारेका थिए ।

सोहीबमोजिम उपभोक्ता समितिका पदाधिकारीलाई कागजपत्र व्यवस्थापन गर्न जानकारी गराइएको थियो । “वडामै पुगेर योजना सम्झौता गर्दा सम्झौताका लागि आवश्यक पर्ने कागजपत्र व्यवस्थापन गर्न पनि स्थानीय उपभोक्तालाई सहज भयो”, थापाले भने । योजना सम्झौतासँगै योजना सञ्चालन गर्दा गर्नुपर्ने कर्तव्यका बारेमा पनि उपभोक्तालाई जानकारी गराइएको थियो ।

योजना सम्झौताका क्रममा गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नरहरि न्यौपाने, सम्बन्धित वडाका अध्यक्षहरु सहभागी थिए । गाउँपालिकाले गौरवका आयोजनाको सम्झौता गर्न बाँकी रहेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले वडास्तरमै पुगेर उपभोक्ता समितिसँग विकासका योजना सम्झौता गर्दा स्थानीयवासीले सङ्घीयताको अनुभव गर्न पाएको बताएका छन् ।

“यसले विकासका काम गुणस्तरीय र छिटो–छरितो हुने विश्वास गरेका छौँ”, गुरुङले भने । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले वडाबाट योजना सम्झौता गर्ने परिपाटीले जनतालाई सहज हुने बताएका छन् । पोखरेलका अनुसार उक्त वडामा सञ्चालन हुने २३ योजनामध्ये १२ वटा योजनाको सम्झौता भइसकेको छ ।