गण्डकी प्रदेश

सङ्घीयताको आधार तयार गर्न सफल छौं : मुख्य मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीय व्यवस्था अन्तर्गत तीनवटै तहका सरकारले यसका आधार तयार गर्न सफल बनेको बताएका छन् ।

गण्डकी प्रदेश समन्वय परिषद्को तेस्रो बैठकको आज यहाँ आयोजित उद्घाटन समारोहमा उनले नयाँ व्यवस्था अनुसार हालसम्म मूलभूत र संस्थागत आधार तय भएको बताउँदै आगामी दिनमा जनताले अनुभूति गर्ने गरी काम अघि बढ्ने उल्लेख गरे । यस अवधिमा स्थानीय तह र प्रदेशबाट भएका कमी कमजोरीलाई आत्मसात गर्दै तिनीहरूको समीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले सहकार्य, समन्वय र सह अस्तित्वका माध्यमबाट समृद्धि र विकासमा उन्मुख बन्नुपर्ने आवश्यकता औंल्याए ।

पूर्वाधार निर्माणलगायत कामका लागि हालसम्म जग्गा प्राप्ति नहुँदा समस्या परिरहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले देखिएका समस्याको समाधान गर्दै अघि बढ्नुको विकल्प नभएको बताए ।

भोलिसम्म चल्ने बैठकमा विभिन्न क्षेत्र सम्वद्ध विज्ञका कार्यपत्र प्रस्तुत भई त्यस सम्बन्धमा छलफल गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष डा बालानन्द पौडेललले प्राकृतिक स्रोत र राजश्व बाँडफाँडको वर्तमान अवस्था र भावी योजना विषयक कार्यपत्रप्रस्तुत गर्नेछन् भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले पन्ध्रौं योजनाको राष्ट्रिय लक्ष्य र स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल, सदस्य ई. डा. विष्णुप्रसाद बराल, मुख्य न्यायाधीवक्ता डा. राजेन्द्र घिमिरे, गणेशप्रसाद पाण्डेयलगायतले विभिन्न विषय सम्बद्ध कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।.