पु.समाचार

सेनाको टोलीले घरघरै पुगेर उपचार सेवा दिएपछि दलित बस्तीका मुसहरहरु मख्ख

सिरहा । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका स्वास्थ्य उपचार पाउन नसकेका बिरामीहरुलाई लक्षित गरी आयोजना गरिएको बृहत निःशुल्क शल्य चिकित्सा घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

प्रदेश नं. २ को महोत्तरी जिल्ला, सोनमा गाउँपालिका, वडा नं. ३ स्थित खकना उच्च माध्यमिक विद्यालयमा(मुख्य क्याम्प) तथा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्‍वरस्थित जलेश्‍वर अस्पतालमा सर्जिकल क्याम्प स्थापना गरी मंसिर २७ गतेदेखि सञ्‍चालन गरिएको घुम्ती स्वास्थ्य शिविर आज सम्पन्न भएको छ ।

उक्त घुम्ती स्वास्थ्य शिविरको समुद्‍घाटन नेपाल सरकारका पूर्व माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले गरेका थिए भने प्रदेश नं. २ का माननीय मुख्यमन्त्री लालबाबु राउतले समापन गरेका हुन् ।

उक्त समापन कार्यक्रममा माननीय मुख्यमन्त्री लालबाबु राउतले उक्त घुम्ती स्वास्थ्य शिविरको स्वास्थ्य उपचार सम्बन्धी गतिविधिहरुको जानकारी लिई प्रदेश नं. २ का चिकित्सा सेवाको पहुँच पुग्न नसकेको मुसहर बस्तीलगायत पिछडिएका ग्रामिण स्थानहरु पहिचान गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई सर्वसाधारणहरु लाभान्वित भएकोमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनालाई धन्यवाद दिइएक थिए । साथै, नेपाली सेना र आम नागरिक बीचको सम्बन्धलाई प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेलेको समेत बताए ।

नेपाली सेनाको सिमित स्रोत र साधनको बावजुद पनि हालसम्म कै सबैभन्दा बृहत संयुक्त घुम्ती स्वास्थ्य शिविर सञ्‍चालनकै बीच नेपाली सेनाका दक्ष चिकित्सकको टोलीले सोनमा–७ को मुसहर र डोम समुदायको बस्तीमै गएर स्वास्थ्य जाँच तथा उपचार सेवा दिएको थियो । दलित बस्तीमा स्वास्थ्य जाँच गरिएका दुई हजार ५०० मध्ये २५० जनालाई शिविरमा ल्याएर थप उपचार समेत गरिएको थियो । सेनाको टोलीले घरघरै पुगेर उपचार सेवा दिएपछि बल्ल आफूहरुलाई हेर्ने पनि कोही रहेछन् भन्ने लागेको दलित बस्तीका मुसहरहरुको भनाइ रहेको छ । यसैबीच नेपाली सेनाको टोलीले सोनमा गाउँपालिकाका सबै बस्तीमा डेङ्गुको समस्या आउन नदिन विषादी छरेको थियो । शिविरको तालिकाभित्रको काम नभए पनि नेपाली सेनाको प्रयत्‍नले पनि डेङ्गु आउन नदिन पूर्वसजगता अपनाइन सकिने सन्देश प्रवाह गर्न थप काम गरिएको थियो ।

प्रदेश नं. २ को सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले संचालन गरिएको उक्त घुम्ती स्वास्थ्य शिविरमा ३२९ जनाको सफल शल्यक्रिया गरिएको साथै जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी, चर्म रोग, हाडजोर्नी, बालरोग, स्वास प्रश्‍वास, मानसिक रोग, हर्निया, हाईड्रोसिललगायत विभिन्न रोगका करिव ३४हजार, १७२ जना स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन् ।