अन्तर्राष्ट्रिय

बोइङ ७३७ लाई क्षेप्यास्त्रले खसालेको हुनसक्ने यूक्रेनी राष्ट्रपतिको दावी

एजेन्सी । पश्चिमी मुलुकहरूद्वारा दावी गरिए अनुसार बुधबार इरानमा दुर्घटनाग्रस्त यूक्रेनी विमानलाई इरानी क्षेप्यास्त्र लागि खसेको हुनसक्ने तर यो कुरा पुष्टि नभएको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार बताएका छन् । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत) र क्यानाडाले उनीहरूको दावीलाई पुष्टि गर्न प्रमाण उपलब्ध गराउन पनि उनले आग्रह गरे ।

विमान दुर्घटना हुनुमा जहाजमा नै प्राविधिक समस्या देखिएको तेहरानले दावी गरेको छ तर अमेरिका, बेलायत र क्यानडाका अधिकारीहरूले विमानलाई क्षेप्यास्त्रले लागेको श्रव्यदृश्य आफूहरूसँग उपलब्ध रहेको बताएका छन् ।

यूक्रेनी राष्ट्रपतिले भने, “हामी हाम्रा यूक्रेनी प्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहेका छौँ । विमानमा क्षेप्यास्त्रले लागेको भन्ने दावीलाई खारेज गर्न सकिन्न तर शुक्रबारसम्म दावी पुष्टि भएका छैनन् ।” अमेरिका, बेलायत र क्यानाडा सरकारद्वारा जारी गरेका विज्ञप्तिलाई लिएर हामीले उनीहरूलाई घटनाबारे अनुसन्धानरत आयोगसमक्ष तथ्य प्रस्तुत गर्न आग्रह गर्दछौँ , जेलेन्स्कीले टेलिग्राम ब्लगमा लेखेको रूसी समाचार संस्था स्पुटनिकले उल्लेख गरेको छ ।

चालक दलका नौ सदस्यसहित १७६ जना लिएर इरानको राजधानी तेहरानबाट यूक्रेनका लागि उडेको केही मिनेटमा विमान इरानमा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना हुनुभन्दा केही मिनेट पहिले इरानले इराकस्थित अमेरिकी शिविरलाई लक्षित गरी आक्रमण गरेको थियो ।

विमान दुर्घटनाबारे जारी अनुसन्धानका बिषयमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग कुराकानी गर्ने जेलेन्स्कीले बताउनुभयो ।